इजरायलद्वारा हिजबुल्लाह विरुद्ध लेबनानमा आक्रमण विस्तार गर्ने योजना

mayukarajkumari

काठमाडौँ,

इजरायलले हिजबुल्लाह विरुद्ध लेबनान मा स्थलीय र हवाई आक्रमण विस्तार गर्ने योजना स्वीकृत गरेको जनाएको छ। यसले लेबनानमा ठूलो स्तरको स्थल आक्रमण हुनसक्ने आशंका बढाएको छ।

इजरायली सेनाले उत्तर इजरायलका बस्तीहरूलाई हिजबुल्लाहका आक्रमणबाट सुरक्षित राख्ने उद्देश्यले आक्रमण तीव्र पारिएको बताएको छ। यसै क्रममा सेनाका प्रमुख इयाल जमिर ले लक्षित स्थल कारबाही र हवाई हमलालाई विस्तार गर्ने योजना अनुमोदन गरेको जनाइएको छ, जुन लामो समयसम्म चल्न सक्ने बताइएको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला आक्रमणमा एक हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ, जसमा बालबालिका र स्वास्थ्यकर्मीसमेत रहेका छन्। साथै, करिब १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्, जसले ठूलो मानवीय संकट निम्त्याउन सक्ने चिन्ता बढेको छ।

इजरायलका रक्षामन्त्री इजरायल काट्ज ले हिजबुल्लाहलाई सहयोग पुग्ने लिटानी नदीका पुलहरू नष्ट गर्न निर्देशन दिएको बताएका छन्। सोही क्रममा दक्षिण लेबनानका मुख्य मार्गमध्ये एक कास्मिये पुलमा हवाई आक्रमण भएको जनाइएको छ।

लेबनानका राष्ट्रपति जोसेफ औन ले इजरायली आक्रमणलाई सम्भावित स्थल आक्रमणको पूर्वसंकेत भन्दै नागरिकमाथिको सामूहिक दण्डको नीति भएको आरोप लगाएका छन्। उनले यसले लेबनानको दक्षिणी क्षेत्रलाई अलग पार्ने प्रयास हुनसक्ने आशंका व्यक्त गरेका छन्।

इजरायल र हिजबुल्लाहबीचको द्वन्द्व दशकौँदेखि जारी छ। सन् २०२३ मा हमास द्वारा इजरायलमा गरिएको आक्रमणपछि सुरु भएको क्षेत्रीय तनाव अझै जारी रहेको छ, जसले मध्यपूर्वमा अस्थिरता बढाएको छ।

प्रतिक्रिया