राष्ट्रिय पुँजी निर्माणमा जोड दिन अर्थमन्त्री खनालको आग्रह

mayukarajkumari

काठमाडौं,

अर्थमन्त्री रामेश्वरप्रसाद खनाल ले उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्दै राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ। नागरिक लगानी कोष को ३६औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले हाल बैंकिङ प्रणालीमा ब्याजदर घटेको र पर्याप्त तरलता रहेको अवस्थामा त्यसलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो।

उहाँले ठूला पूर्वाधार तथा दीर्घकालीन लगानी आवश्यक पर्ने आयोजना अघि बढाउनुपर्नेमा जोड दिँदै बूढीगण्डकी जलविद्युत् आयोजना जस्ता परियोजनामा सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमार्फत लगानी विस्तार गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। निष्क्रिय पुँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्ने उहाँको भनाइ थियो।

अर्थमन्त्री खनालले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्वले नेपालको आपूर्ति शृङ्खलामा असर पार्न सक्ने र मूल्यवृद्धि जस्ता समस्या आउन सक्ने भन्दै त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभयो। शोधनान्तर र चालु खाता बचतमा रहेको तथा सरकारी राजस्वमा वृद्धि भएको उल्लेख गर्दै उहाँले धेरै आर्थिक सूचकहरू सुधारोन्मुख रहेको बताउनुभयो। अब लगानीकर्ताको हातमा पुँजी पुग्ने वातावरण सिर्जना गर्नुपर्ने बेला आएको उहाँको धारणा थियो।

उहाँले वैकल्पिक वित्त परिचालनसम्बन्धी कानुन शीघ्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै अवकाश कोषमा लागिरहेको करका विषयमा पुनर्विचार गर्नुपर्ने बताउनुभयो। समान प्रकृतिको आम्दानी तथा सामाजिक सुरक्षासम्बन्धी रकममा न्यून कर लगाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

सरकारी स्वामित्वका धेरै संस्थाहरू समस्याग्रस्त हुने गरेको उल्लेख गर्दै नागरिक लगानी कोषले भने व्यवसायिक सफलता हासिल गर्न सकेको उहाँले बताउनुभयो। नेपाल वायुसेवा निगम मा कोषबाट प्रवाहित कर्जाको असुलीका विषयमा सरकारको नीतिगत जमानीका आधारमा समाधान खोज्नुपर्ने उहाँको भनाइ छ।

कार्यक्रममा कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरे ले उच्च तथा दिगो आर्थिक विकासका लागि कोषले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो। उत्पादनशील तथा पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले कोषले विभिन्न बचत योजनाहरू प्रभावकारी रूपमा सञ्चालन गरिरहेको जानकारी दिनुभयो।

कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की ले लगानी विविधीकरणको आवश्यकता औँल्याउँदै हाल करिब आधा लगानी बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा रहेको, करिब २२ प्रतिशत कर्जा तथा सापटीमा र बाँकी विभिन्न संस्थाका शेयरमा लगानी गरिएको जानकारी दिनुभयो। ब्याजदरमा आएको गिरावटले कोषको नाफामा असर पार्न सक्ने भएकाले विविधीकरण अपरिहार्य रहेको उहाँले बताउनुभयो।

कार्यकारी निर्देशक कार्कीले सरकारले प्राथमिकतामा राखेका पूर्वाधार तथा उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने बताउँदै कोषले डिजिटल प्रविधिको प्रयोग बढाउँदै सेवा विस्तार गरिरहेको जानकारी दिनुभयो। आन्तरिक सुशासन र पारदर्शी प्रणाली सुदृढ गर्दै दिगो प्रतिफल दिने संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ।

कार्यक्रममा नेपाल बैंकर्स सङ्घ का अध्यक्ष सन्तोष कोइराला ले दीर्घकालीन र सुरक्षित प्रतिफलका लागि लगानीलाई विविधीकरण गर्नुपर्नेमा जोड दिनुभयो। मुद्दती निक्षेपमा सीमित नरही ऋणपत्रलगायत विभिन्न वित्तीय उपकरणमा लगानी विस्तार गर्नुपर्ने उहाँको सुझाव थियो।

उहाँका अनुसार हाल बैंकिङ क्षेत्रमा करिब रु ७७ खर्ब निक्षेप सङ्कलन भएको छ भने करिब रु ५८ खर्ब कर्जा लगानी भएको छ। चालु आर्थिक वर्षमा बैंकिङ क्षेत्रको विस्तार दर करिब तीन दशमलव नौ प्रतिशतमा सीमित रहेको र पछिल्लो समय कर्जा असुलीमा पनि चुनौती देखिएको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया