इरानमा हमलाबीच खामेनीको अन्त्येष्टि स्थगित, उत्तराधिकारी छनोट प्रक्रिया तीव्र

mayukarajkumari

इरान

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टि कार्यक्रम अमेरिकी र इजरायली हवाई आक्रमण जारी रहेकै अवस्थामा स्थगित गरिएको छ। तेहरानस्थित प्रार्थना परिसरमा तीन दिने श्रद्धाञ्जली कार्यक्रम बुधबार रातिदेखि सुरु हुने तय भए पनि ठूलो सङ्ख्यामा सहभागी हुन चाहने जनताको अनुरोध र आवश्यक पूर्वाधार तयारीको कारण देखाउँदै समारोह पछि सारिएको इरानी अधिकारीहरूले जनाएका छन्। ८६ वर्षीय खामेनी गत शनिबार अमेरिकी–इजरायली संयुक्त आक्रमणको पहिलो चरणमै तेहरानस्थित निवासमा मारिएका थिए।

खामेनी सन् १९८९ देखि इरानका सर्वोच्च नेता रहँदै आएका थिए। उनी रूहोल्लाह खोमेिनीको निधनपछि सर्वोच्च पदमा पुगेका थिए। उनको नेतृत्वमा इरानको राजनीतिक तथा सुरक्षा संरचनामा कडा नियन्त्रण कायम रहेको थियो। उनको निधनसँगै नयाँ सर्वोच्च नेता चयनका लागि विशेषज्ञहरूको सभा (Assembly of Experts) सक्रिय भएको छ। एक सदस्यका अनुसार उत्तराधिकारी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ, यद्यपि युद्धको अवस्थाका कारण औपचारिक घोषणा हुन बाँकी छ। सञ्चारमाध्यमका अनुसार उनका छोरा मोज्तबा खामेनी सम्भावित उत्तराधिकारीका रूपमा अगाडि देखिएका छन्।

अमेरिकी र इजरायली सेनाले इरानका सैन्य अड्डा, मिसाइल भण्डारण केन्द्र र हवाई प्रतिरक्षा प्रणालीमाथि निरन्तर आक्रमण गरिरहेका छन्। अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले हिन्द महासागर क्षेत्रमा अमेरिकी पनडुब्बीले इरानी युद्धपोत डुबाएको दाबी गरेका छन्। उक्त घटनामा धेरैको मृत्यु तथा केही बेपत्ता भएको श्रीलङ्काली अधिकारीहरूले बताएका छन्। अमेरिकी सेनाले चाँडै नै इरानको आकाशमा पूर्ण नियन्त्रण कायम गर्ने दाबी गरेको छ।

आक्रमणको जवाफमा इरानले इजरायल तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डातर्फ सयौँ मिसाइल र ड्रोन प्रहार गरेको जनाएको छ। कुवेतमा झरेको छर्राले एक बालिकाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। साउदी अरेबिया र कतारले पनि ड्रोन तथा मिसाइल आक्रमण प्रयासको जानकारी दिएका छन्। इरानका राष्ट्रपति मसउद पेजेशकियानले कूटनीतिक प्रयास असफल भएपछि आत्मरक्षाका लागि जवाफ दिनुपरेको बताएका छन्।

यसैबीच, इरानको सरकारी समाचार संस्था इर्नाका अनुसार हालसम्म १,०४५ सैनिक तथा सर्वसाधारणको मृत्यु भएको छ। मानवअधिकारसम्बन्धी संस्थाहरूले भने सर्वसाधारणको मृतक संख्या अझ बढी रहेको दाबी गरेका छन्। इजरायलमा पनि पछिल्ला पाँच दिनमा मिसाइल आक्रमणबाट १० जनाको मृत्यु भएको जनाइएको छ। क्षेत्रीय तनाव चुलिँदै जाँदा अन्तरराष्ट्रिय समुदायले संयमता अपनाउन र वार्तामार्फत समाधान खोज्न आग्रह गरिरहेको छ।

प्रतिक्रिया