राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको आज शपथग्रहण

mayukarajkumari

काठमाडौँ,

राष्ट्रियसभामा हालै निर्वाचित सदस्यहरूको शपथग्रहण आज हुने भएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको सभाहलमा आज दिउँसो २ बजे शपथग्रहण कार्यक्रम आयोजना गरिएको छ। माघ ११ गते सम्पन्न निर्वाचनबाट रिक्त हुन लागेका १८ सदस्यका लागि मतदान गरिएको थियो।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम नवनिर्वाचित सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम रहेको छ। शपथग्रहण कार्यक्रममा सहभागी हुन सदस्यहरूले आफ्नो पहिचान झल्कने पोशाकमा उपस्थित हुनुपर्नेछ। साथै, निर्वाचन आयोगबाट प्राप्त राष्ट्रियसभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ।

सचिवालयका अनुसार नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले कानुनअनुसार शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी उपलब्ध गराउनुपर्नेछ। यस व्यवस्था अनुसार सदस्यहरूले आफ्नो भाषिक पहिचानअनुसार शपथ लिन सक्नेछन्।

निर्वाचन आयोगका अनुसार माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनबाट कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल र सुनिलबहादुर थापा निर्वाचित हुनुभएको छ। मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर निर्वाचित भएका छन्।

त्यसैगरी बागमती प्रदेशबाट गीता देवकोटा र प्रेमप्रसाद दङ्गाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा निर्वाचित भएका छन्। लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे विजयी भएका छन् भने कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही निर्वाचित भएका छन्।

यसैगरी सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्। आज हुने शपथग्रहणसँगै नवनिर्वाचित सदस्यहरूले औपचारिक रूपमा आफ्नो कार्यकाल प्रारम्भ गर्नेछन्।

प्रतिक्रिया