तनहुँ,
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा अवस्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रमा मर्मतसम्भार कार्य सम्पन्न भएपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको छ। केन्द्रलाई विगत २१ दिनदेखि पूर्ण रूपमा बन्द (सटडाउन) गरी जटिल प्राविधिक तथा सिभिल संरचनासम्बन्धी मर्मत कार्य सञ्चालन गरिएको थियो। निर्धारित समयभित्र सबै काम सम्पन्न भएपछि केन्द्रले पुनः नियमित रूपमा विद्युत् उत्पादन थालेको हो।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गत सञ्चालनमा रहेका विद्युत् केन्द्रहरूमध्ये क्षमताका आधारमा तेस्रो तथा वार्षिक उत्पादनका हिसाबले दोस्रो ठूलो मानिने यस केन्द्रले गत आर्थिक वर्षमा ४५१ दशमलव सात गिगावाट घण्टा विद्युत् उत्पादन गरेको थियो। चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म केन्द्रले २९३ दशमलव पाँच गिगावाट घण्टा विद्युत् उत्पादन गरिसकेको छ। केन्द्रको दीर्घकालीन र सुरक्षित सञ्चालन सुनिश्चित गर्न फागुन २ गतेदेखि प्लान्ट बन्द गरी मर्मत कार्य सुरु गरिएको थियो।
केन्द्र प्रमुख कपिलदेव मानजनका अनुसार यसपटकको सटडाउन अवधिमा वर्षौँदेखि बाँकी रहेका तथा निकै चुनौतीपूर्ण मानिएका प्राविधिक र सिभिल संरचनासम्बन्धी कामहरू सम्पन्न गरिएको छ। विशेषगरी बाँध क्षेत्रको माथिल्लो तटीय भाग र डिसेन्डर नजिकको कटानका कारण जोखिममा परेको संरचनाको संरक्षण कार्य पूरा गरिएको छ। साथै विगत १४ वर्षदेखि सञ्चालनमा आउन नसकेको ‘अन्डर स्लुइस गेट’ को क्षतिग्रस्त संरचना मर्मत गरी पुनः सञ्चालनयोग्य बनाइएको छ। यो गेट सुरुङमा बालुवा प्रवेश हुन नदिन महत्वपूर्ण मानिन्छ।
त्यसैगरी मुख्य इन्टेक नजिकै रहेको कम्पनसेटिङ पोखरीमा वर्षौँदेखि जमेको बालुवा हटाउने काम पनि यही अवधिमा सम्पन्न गरिएको केन्द्रले जनाएको छ। केन्द्र प्रमुख मानजनले लामो समयदेखि रोकिएका ठेक्का सम्झौतासम्बन्धी काम तथा मेकानिकल मर्मतलाई उच्च प्राथमिकतामा राखी सम्पन्न गरिएको बताउनुभयो। विद्युत् गृहको युनिट नम्बर–३ को ओभरहलिङ कार्यमा केन्द्रकै कर्मचारीसँगै अन्य जलविद्युत् केन्द्रका प्राविधिकहरूलाई समेत संलग्न गराइएको थियो।
बाँध क्षेत्रमा भइरहेको सिभिल मर्मत कार्यका लागि तीन सिफ्टमा २४सै घण्टा जनशक्ति परिचालन गरिएको थियो। खोलाको बहाव न्यूनतम हुने समयलाई ध्यानमा राखेर उत्पादनमा कम प्रभाव पर्ने गरी मर्मत कार्यको योजना बनाइएको केन्द्रले जनाएको छ।
तालुक कार्यालय, विभाग र निर्देशनालयबीचको समन्वय तथा उच्च व्यवस्थापनको सहयोगका कारण वर्षौँदेखि रोकिएका महत्वपूर्ण सिभिल कार्यहरू सम्पन्न गर्न सफल भएको केन्द्रले जनाएको छ। सटडाउन अवधिमै विद्युत् गृहमा एलटी टाइप ब्रेकर परिवर्तन लगायतका आवश्यक इलेक्ट्रिकल र मेकानिकल मर्मतसमेत गरिएको छ। यस मर्मतपछि केन्द्रको उत्पादन क्षमता अझ सुधार हुने र प्राविधिक जोखिमसमेत घट्ने अपेक्षा गरिएको छ।