चितवन,
चालु आर्थिक वर्षमा गैंडा सहित ५७ वटा वन्यजन्तु मरेका छन्। तीमध्ये १७ वटा गैंडा साउन यता मृत्यु भएको जानकारी चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगर ले दिनुभयो। गैंडा मध्ये एक जना विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मृत्यु भएको हो।
अविनास थापामगरका अनुसार यस आर्थिक वर्षमा अन्य वन्यजन्तुमा बाघ ४ वटा, हात्ती ३ वटा र चित्तल १८ वटा मरेका छन्। त्यस्तै, चितुवा, जरायो, मगर गोही तथा घडियाल गोही २/२ वटा, अजिङ्गर र सुन गोहोरो १/१ वटा, र अन्य ४ वटा वन्यजन्तु मरेका छन्। ती सबै वन्यजन्तु प्राकृतिक कारणले मृत्यु भएको जनाएको छ।
वन्यजन्तुहरू दलदलमा फसेर, जुधेर, दुर्घटनामा परेर वा बाघको आक्रमणमा परेर मरेका हुन्। सूचना अधिकारी थापामगरले भने, “सामाजिक चेतना बढेसँगै र चोरी शिकारीको निगरानीमा रहेको कारण वन्यजन्तुको संरक्षणमा सकारात्मक परिणाम देखिएको छ।” गत आर्थिक वर्षमा ८१ वटा वन्यजन्तु मरेको थियो।