काठमाडौँमा सडकआश्रित मानव उद्धार अभियान तीव्र, दैनिक तीन सिफ्टमा सञ्चालन

mayukarajkumari

काठमाडौँ,

काठमाडौँ महानगरपालिकाले सडकआश्रित सहयोगापेक्षी मानवहरूको उद्धार कार्य सुरु गरेको छ। महानगरले काठमाडौँलाई सहयोगापेक्षीमुक्त सहर बनाउने लक्ष्यसहित महानगर प्रहरी बल, नेपाल प्रहरी, मानव सेवा आश्रम तथा वडाका जनप्रतिनिधिसहित सरोकारवालाको सहभागितामा दैनिक तीन सिफ्टमा उद्धार अभियान सञ्चालन गरेको जनाएको छ।

कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार सडकमा रहेका बिरामी, मानसिक तथा शारीरिक रूपमा अशक्त तथा बेवारिसे व्यक्तिहरूलाई प्राथमिकताका साथ उद्धार गरिँदै आएको छ। उहाँले शारीरिक रूपमा सक्षम व्यक्तिलाई माग्ने पेसा गर्न नदिने र वास्तविक सहयोगापेक्षीलाई मात्रै उद्धार गर्ने नीति अपनाइएको बताउनुभयो।

उद्धार अभियानअन्तर्गत पशुपति क्षेत्रबाट नुवाकोट, रामेछाप र काभ्रे घर भएका गरी छ जनालाई उद्धार गरिएको छ। त्यसैगरी कालीमाटी क्षेत्रबाट दुई जना र टेकु क्षेत्रबाट एक जना ज्येष्ठ नागरिकको उद्धार गरिएको महानगरले जनाएको छ। उद्धार गरिएका अधिकांश व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

उद्धार, पहिचान, उपचार तथा पुनःस्थापनाको कार्यलाई प्रभावकारी बनाउन कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा उच्चस्तरीय समन्वय समिति गठन गरिएको छ। समितिमा जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान, पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी तथा मानव सेवा आश्रमका प्रतिनिधिहरू सदस्यका रूपमा रहेका छन्।

कार्यवाहक प्रमुख डङ्गोलले सडकमा रहेका सबै व्यक्ति सहयोगापेक्षी नभएको उल्लेख गर्दै कतिपयले माग्ने कामलाई पेसाका रूपमा अपनाएको र केही व्यक्ति पारिवारिक तथा सामाजिक कारणले सडकमा पुगेको बताउनुभयो। उहाँले अवस्थाअनुसार व्यवस्थापन गर्ने योजनासहित उद्धार कार्यलाई तीव्रता दिइएको जानकारी दिनुभयो।

प्रतिक्रिया