काठमाडौँ,
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि २७औँ फ्लोरा एक्स्पो सुरु भएको छ। ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ सुरु भएको एक्सपो यही चैत ८ गतेसम्म भृकटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुने जनाइएको छ।
मेलाको उद्घाटन कार्यक्रममा बागमती प्रदेश, कृषि तथा पशुपक्षी विकासमन्त्री मधुसुदन पौडेलले पुष्प व्यवसायलाई परिस्कृत बनाउन थप कार्यक्रम र नीतिगत सुझाव पाएमा प्रदेश सरकार सधैँ सहयोगका लागि तत्पर रहने बताउनुभयो। उहाँले भन्नुभयो, “यो प्रतिस्पर्धी व्यवसाय हो। यसलाई प्रविधियुक्त बनाउन आवश्यक छ। पुराना बिरुवालाई संरक्षण र नयाँलाई प्रवर्द्धन गर्न आवश्यक देखिन्छ।”
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले पुष्प व्यवसाय रोजगारी र आर्थिक समृद्धिको महत्वपूर्ण क्षेत्र भएको बताए।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले हाल ५२ जिल्लामा लगभग २७० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय फैलिएको जानकारी दिनुभयो। उहाँका अनुसार यस क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५३,५०० भन्दा बढी जनशक्ति रोजगारमा छन्। तर पुष्प व्यवसायीले आवश्यक बीउबिजन तथा बिरुवा समयमै आयात गर्न नपाउनु नीतिगत समस्या भएको गुनासो व्यक्त गर्नुभएको छ।
अध्यक्ष श्रेष्ठले एक्स्पो अवधिमा करिब ६० हजार अवलोकनकर्ता आउने र एक करोड २० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको बताए। एक्सपोमा ६५ वटा स्टल राखिएको छ।
एक्सपोमा मौसमी फूल, फूल फूल्ने तथा नफूल्ने आलङ्कारिक बोट बिरुवा, कट फ्लावर, ड्राइ फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बिउबिजन, ग्रीनहाउस, कृषि औजार तथा उपकरण, प्याकेजिङका सामग्री, थोपा सिँचाइ प्रविधि, आधुनिक पुष्पखेती प्रविधि, जैविक विषादी, विभिन्न प्रकारका गमला, र पुष्प सजावटका प्रदर्शनी तथा बिक्री कक्षहरू रहेका छन्।
फ्लोरिकल्चर एसोसिएसन नेपालले २०५१ सालदेखि निरन्तर रूपमा हरेक वर्ष क्षेत्रीय तथा राष्ट्रिय स्तरको पुष्प मेला आयोजना गर्दै आएको छ, जसले पुष्प व्यवसायको विकास, विस्तार र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु-याउँदै आएको छ।