डोल्पा,
त्रिपुरासुन्दरी नगरपालिका मा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार जना पक्राउ परेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज प्रशासनमा बुझाइएको छ।
नेपाली सेनाको संयुक्त गस्ती टोलीले आज बिहान ३ः३० बजे त्रिपुराकोट क्षेत्रमा छापा मार्दा करिब ३५ क्विन्टल पदमचाल जडीबुटी र दुई ट्र्याक्टर नियन्त्रणमा लिएको छ। उक्त कारबाही नेपाली सेनाका उपसेनानी सुशील दाहालको कमाण्डमा सेनासहित निकुञ्ज प्रशासन कार्यालयका वरिष्ठ खेल रक्षकको संयुक्त टोलीले गरेको हो।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–५ का ३६ वर्षीय नरेश बुढा, सल्यान कुमाख गाउँपालिका–४ का २५ वर्षीय एलिश बुढा, रुकुमपश्चिम आठबिस नगरपालिका–७ का ४८ वर्षीय कृष्ण विक र त्रिपुरासुन्दरी–५ का ३३ वर्षीय विकास रोकाया रहेका छन्। उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि दोहोरो भरपाइसहित निकुञ्ज प्रशासन कार्यालयमा बुझाइएको छ।
विज्ञान सेनका अनुसार निकुञ्ज क्षेत्रबाट अनुमति नलिई जडीबुटी सङ्कलन गरिएको र जिल्ला बाहिर पठाउने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। हाल डोल्पामा जठामसी (भुल्ते) सङ्कलनमा प्रतिबन्ध लगाइएको छ भने पदमचाल सङ्कलनका लागि मात्र कार्ययोजना अध्ययनपछि उपयुक्त क्षेत्र पहिचान गरी अनुमति दिइने व्यवस्था रहेको जानकारी उहाँले दिनुभयो।