सर्लाही,
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीका ३४ जना कैदी बन्दीले मतदान गर्न पाउने भएका छन्। कारागार कार्यालय मलंगवामा कैद भुक्तान गरिरहेका र मतदाता नामावलीमा नाम समावेश भएका उनीहरू समानुपातिक निर्वाचन प्रणालीअनुसार मतदान गर्न पाउने भएका हुन्।
निर्वाचन आयोगको व्यवस्था अनुसार नेपाली सेना, सुरक्षाकर्मी, कर्मचारी तथा कैदी बन्दीले समानुपातिक निर्वाचन प्रणालीअनुसार मतदान गर्न सक्ने प्रावधान छ। सोही प्रावधानअनुसार सर्लाहीमा चार स्थानमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ।
कारागार कार्यालय मलंगवा, जिल्ला समन्वय समिति मलंगवास्थित तीनबिघे चौर, सशस्त्र प्रहरी बल नेपालको कविलासी अगर्बा गण अगाडिको गोलघर तथा पाँचकुमारी खेल मैदान पुर्नबासमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख ऋषिराम पौडेलका अनुसार समानुपातिकतर्फ मतदान गर्न पाउने कैदी बन्दी ३४ जनासहित कर्मचारी, सेना र प्रहरी गरी कुल ६ हजार ८७ जना मतदाता रहेका छन्। प्रत्येक अस्थायी मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र एक जना सहयोगी कर्मचारी गरी तीन जनाको टोली खटाइने व्यवस्था मिलाइएको छ।