कञ्चनपुर,
स्वरोजगारमार्फत स्थानीयवासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले शुक्लाफाँटा नगरपालिकाले १३३ जनालाई सीपमूलक तालिम प्रदान गरेको छ।
आर्थिक रूपमा विपन्न, दलित, जनजाति, महिला, अपाङ्गता भएका व्यक्ति, सहिद परिवार, द्वन्द्वपीडित तथा विदेशबाट फर्केका व्यक्तिलाई लक्षित गरी नगरपालिकाले चालु आर्थिक वर्षमा लघु तथा घरेलु उद्योग प्रवर्द्धन कार्यक्रमअन्तर्गत विभिन्न सीपमूलक तालिम सञ्चालन गरेको हो।
कार्यक्रमअन्तर्गत काष्ठकला सम्बन्धी २०, ग्यास चुलो मर्मत सम्बन्धी २०, गुन्द्री बनाउने २०, खेलौना बनाउने १३, अटो ड्राइभिङ २०, दुना–टपरी बनाउने २० र फुट मसाज (सुत्केरी स्याहार) सम्बन्धी २० जनाले तालिम लिएका छन्। तालिम लिएका व्यक्तिलाई व्यवसाय सञ्चालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले आवश्यक सामग्रीसमेत अनुदानमा उपलब्ध गराइएको कार्यक्रमका उद्यम विकास सहजकर्ता धनबहादुर चौधरीले जानकारी दिनुभयो।
उहाँका अनुसार तालिमसँगै आवश्यक सामग्री उपलब्ध गराएर लक्षित समूहका व्यक्तिलाई आत्मनिर्भर बनाउने प्रयास गरिएको हो। तालिम लिएकामध्ये धेरैजना स्वरोजगारमा संलग्न भई व्यवसायिक गतिविधि सञ्चालन गरिरहेका छन् भने ३९ जनाले आफ्नै व्यवसाय सुरु गरिसकेका छन्।
दुना–टपरी बनाउने तालिम लिएकी सरिता चौधरीले तालिमपछि उत्पादन गरेर बजारमा बिक्री गर्न थालेको बताउनुभयो। त्यसैगरी आधुनिक सिलाइ मेसिन अनुदानमा प्राप्त गरेका जगतबहादुर सिंहले तालिमले गार्मेन्ट व्यवसाय विस्तार गर्न सहयोग पुगेको बताउनुभयो।
तालिममा १८ देखि ५५ वर्ष उमेर समूहका व्यक्तिहरू सहभागी भएका छन्, जसमा अधिकांश महिला रहेका छन्। नगरपालिकाका प्रवक्ता लालबहादुर ऐरले “हात–हातमा सीप र घर–घरमा रोजगारी” पु-याउने उद्देश्यले यस्तो तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो।