जलेश्वर,
बर्दिबास नगरपालिका क्षेत्रमा मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ। १४ जनालाई बाँकी रहेको मुआब्जा विवादको कारण रेल मार्गको निर्माण अहिले ठप्प परेको हो।
भारत सरकारको सहयोगमा भारतको जयनगरदेखि महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिकास्थित रेल्वे स्टेशनसम्म रेल सञ्चालनमा आइसकेको छ। तर भङ्गहाबाट बर्दिबाससम्मको रेल मार्गको काम मुआब्जा नदिँदा रोकिएको छ। चौध जनालाई सातदेखि आठ करोड रुपैयाँ बराबरको मुआब्जा तिर्न बाँकी रहेको छ।
रेल विभागले बाँकी रकम निकासा गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुरोध गरेको छ। बर्दिबासका पीडितहरूले पटकपटक रेल विभागमा मुआब्जाको माग राखे पनि सुनुवाई नभएपछि उनीहरूले अन्ततः निर्माण कार्य रोकेका छन्। यसअघि पनि उनीहरूले काम रोक्ने चेतावनी दिएका थिए।