ग्यास आयात निरन्तर, अनावश्यक सञ्चित नगर्न निगमको आग्रह

mayukarajkumari

काठमाडौँ,

नेपाल
आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चित नगर्न आग्रह गरेको छ। निगमका प्रवक्ता मनोज ठाकुरले ग्यासको आयात साविककै परिमाणमा भइरहेको स्पष्ट पार्नुभएको छ।

उहाँका अनुसार नेपालमा मासिक रूपमा करिब ४५ देखि ४६ हजार मेट्रिक टन एलपी ग्यासको खपत हुने गर्दछ सोही अनुपातमा हरेक महिना आयात भइरहेको छ। फागुन २६ गतेसम्म मात्रै ४५ हजार ५०० मेट्रिक टन ग्यास आयात भइसकेको जानकारी दिँदै प्रवक्ता ठाकुरले घरघरमा ग्यास भण्डारण गरेर अनावश्यक जोखिम नलिन उपभोक्तालाई आग्रह गर्नुभयो।

ग्यासको बिक्री–वितरण सहज बनाउन निगमले ग्यास उद्योगहरूलाई आवश्यक निर्देशन दिइरहेको पनि उहाँले बताउनुभयो। यदि कतै ग्यास वितरणमा अनियमितता देखिएमा निगमलाई सूचना दिन पनि उहाँले उपभोक्तासँग आग्रह गर्नुभएको छ।

पछिल्लो समय मध्यपूर्वी मुलुकहरूमा विकसित घटनाक्रमका कारण उपभोक्ताबीच ग्यासको माग बढेको देखिएपछि निगमले उद्योगहरूलाई आधा सिलिण्डर ग्यास बिक्री गर्न निर्देशन दिएको छ। सोही निर्देशनअनुसार ग्यास उद्योगहरूले आजदेखि दशमलव किलो ग्यास भरेर सिलिण्डर बजारमा पठाउन सुरु गरेका छन्।

प्रतिक्रिया