कञ्चनपुरमा किसानलाई उन्नत धानको बीउमा ५० प्रतिशत अनुदान

mayukarajkumari

कञ्चनपुर, 

दोधारा चाँदनी
स्थित लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ। धानको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत उक्त बीउ वितरण गर्न लागिएको हो।

पालिकाका कृषि अधिकृत दशरथ साउदका अनुसार कृषि समूह तथा सहकारीमार्फत किसानलाई उन्नत बीउ उपलब्ध गराइनेछ। “हामीले सूचना आह्वान गरिसकेका छौँ, प्राप्त निवेदनका आधारमा किसान छनोट गरेर बीउ वितरण गर्छौँ,” उहाँले भन्नुभयो। उहाँका अनुसार यस कार्यक्रमका लागि पालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको छ भने किसानले पनि ५० प्रतिशत लागत व्यहोर्नुपर्नेछ।

यसैबीच, कृषि ज्ञान केन्द्र कञ्चनपुर ले पनि धानको बीउ उत्पादनका लागि किसानलाई ५० प्रतिशत अनुदान दिने जनाएको छ। केन्द्रका प्रमुख हरिप्रसाद पनेरुका अनुसार कृषि समूह, फार्म तथा सहकारीमार्फत किसानलाई अनुदान उपलब्ध गराइनेछ। कार्यालयले आगामी वैशाख ३ गतेभित्र आवेदन दिन किसानलाई आह्वान गरेको छ।

पछिल्लो समय व्यवसायिक कृषि प्रवर्द्धन गर्न प्रदेश सरकार र स्थानीय तहले किसानलाई विभिन्न प्रकारका अनुदान कार्यक्रम सञ्चालन गर्दै आएका छन्, जसले कृषिमा आकर्षण बढाउन सहयोग पुर्‍याएको छ।

प्रतिक्रिया