काठमाडौँ,
निर्वाचन आउन नौ दिन बाँकी रहँदा निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिताको पालना गर्न सम्बन्धित सबै पक्षलाई पुनः स्मरण गराएको छ। पछिल्ला दिनहरूमा आचारसंहिता उल्लङ्घनका घटनाहरू सार्वजनिक हुनुका साथै उल्लेख्य सङ्ख्यामा उजुरी परेपछि आयोगले सचेत गराएको हो। प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ गते हुँदैछ।
आयोगका अनुसार नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीहरू, सरकारी तथा प्रदेशस्तरीय निकायका पदाधिकारी, स्थानीय तहका कार्यपालिका सदस्य, साथै सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई पूर्ण रूपमा निर्वाचन आचारसंहिता लागू हुन्छ। सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू पनि आचारसंहिताको दायराभित्र पर्ने आयोगले जनाएको छ।
त्यस्तै सञ्चार प्रतिष्ठान, सञ्चारकर्मी, विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयका शिक्षक र कर्मचारीहरूलाई समेत आचारसंहिता लागू हुने आयोगले स्पष्ट पारेको छ। राजनीतिक दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधिहरू पनि आचारसंहिताको पालना गर्न बाध्य रहनेछन्।
निजी क्षेत्रअन्तर्गतका बैंक तथा वित्तीय संस्था, सहकारी, व्यापारिक तथा औद्योगिक प्रतिष्ठान, वस्तु तथा सेवा प्रदायक संस्था, निजी तथा गैरसरकारी संस्थाका पदाधिकारी र कर्मचारीहरू पनि आचारसंहिताको पूर्ण दायरामा पर्ने आयोगले जनाएको छ। साथै संवैधानिक निकाय, सुरक्षा निकाय, सुरक्षाकर्मी, सार्वजनिक पद धारण गरेका व्यक्ति तथा अनुगमनकर्तालाई समेत आचारसंहिता लागू हुनेछ।
यसैगरी मतदाता, पर्यवेक्षण संस्था र पर्यवेक्षक, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी परियोजना र तिनका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा कर्मचारीहरूलाई पनि आचारसंहिता पालना गर्न आयोगले आग्रह गरेको छ।
स्थानीय कार्यपालिकाका केही पदाधिकारी आचारसंहिता विपरीत प्रचारप्रसारमा संलग्न भएको पाइएपछि आयोगले आइतबार पहिलोपटक स्मरण गराएको थियो। सोमबार पुनः सरकारी तथा निजी क्षेत्रका सबै निकायलाई आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गर्दै आयोगले चेतावनी दिएको हो।