लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको सन्देश प्रवाह गर्न विश्व शान्ति मन्दिर निर्माण तीव्र

mayukarajkumari

सिद्धार्थनगर (भैरहवा),

लुम्बिनी मा विश्व शान्ति, सहअस्तित्व र करुणाको सन्देश प्रवाह गर्ने उद्देश्यसहित विश्व शान्ति मन्दिर निर्माणलाई तीव्रता दिइएको छ। मन्दिरका प्रमुख श्याल्पा तेन्जिन रिन्पोछे ले बौद्ध दर्शन “सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः” लाई आत्मसात् गर्दै मानवता, मैत्री र अहिंसाको उज्यालो फैलाउने ध्येयले मन्दिर निर्माण अघि बढाइएको जानकारी दिनुभयो।

सन् २०१४ मा शिलान्यास गरिएको यस मन्दिरलाई बौद्ध आस्थाको अन्तरराष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। मन्दिरको खाका जर्मनीका प्रख्यात आर्किटेक्ट स्टेफ ब्राउनफेल्स ले तयार पारेका हुन्। निर्माण कार्य विभिन्न प्रशासनिक जटिलताका कारण केही समय प्रभावित भए पनि हाल पुनः तीव्र गतिमा अघि बढिरहेको मन्दिर प्रशासनले जनाएको छ।

यसैबीच, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ), लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिज र सञ्चारकर्मीहरूको टोलीले स्थलगत अनुगमन पनि गरेको छ।

निर्माणाधीन मन्दिरले बुद्धको “अप्प दीपो भव” अर्थात् ‘आफैँ प्रकाश बन’ भन्ने शिक्षा आत्मसात् गर्दै विश्व समुदायमा शान्ति, सहिष्णुता र मानव एकताको सन्देश फैलाउने अपेक्षा गरिएको छ। लुम्बिनी विकास कोषका अनुसार यस मन्दिर निर्माणसँगै विश्व शान्तिका लागि नयाँ अभियानको सुरुवात हुनेछ।

प्रतिक्रिया