जनकपुरधाम,
प्रधानमन्त्री सुशीला कार्कीले आज जनकपुरधामस्थित प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा दर्शन र पूजाआराधना गर्नुभएको छ। बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत मन्दिर पुग्नुभएको प्रधानमन्त्री कार्कीले विशेष पूजाअर्चना सम्पन्न गर्नुभएको थियो।
त्यस अवसरमा मन्दिरका महन्थ रामतपेश्वर दास तथा उत्तराधिकारी महन्थ रामरोशन दासले प्रधानमन्त्रीलाई स्वागत गर्दै पुष्पमाला तथा प्रसाद प्रदान गर्नुभएको थियो। मन्दिरका पुजारीले स्वस्तिवाचनसमेत गरेका थिए।
पूजा आराधनापछि प्रधानमन्त्री कार्कीले मन्दिरको परिक्रमा गरी अवलोकन गर्नुभएको थियो र मन्दिरसँग सम्बन्धित आवश्यक जानकारी लिइएको थियो। पूजापछि सञ्चारकर्मीसँगको छोटो कुराकानीमा प्रधानमन्त्री कार्कीले जनकपुरधाममा आफ्नो धार्मिक यात्रा विशुद्धरूपमा सफल भएको बताउनुभयो।
प्रधानमन्त्री कार्कीले जनकपुरधामलाई नेपालको धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थल भएको उल्लेख गर्नुभयो। उहाँले जनकपुरधामसहित देशभरका धार्मिक र ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा सरकारले प्रतिबद्ध रहेको जनाउनुभयो।
यसैगरी, प्रधानमन्त्री कार्कीले जनकपुरधामलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको जानकारी दिनुभयो। उहाँले अन्तरिम सरकार जनताको अपेक्षाअनुसार सुशासन, विकास र स्थायित्वमा केन्द्रित रहेको र सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रधानमन्त्री आगमन अघि जनकपुरविमानस्थलमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो, प्रमुख सचिव, प्रदेश तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू र धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी पे्रमप्रसाद लुइँटेलले स्वागत गर्नुभएको थियो।