समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

mayukarajkumari

काठमाडौँ,

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० जना सांसदलाई आज प्रमाणपत्र वितरण गरिएको छ।

निर्वाचन आयोगले केन्द्रीय कार्यालय बहादुर भवनमा आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकीकुमारी तुलाधर र सगुनशमशेर जबराले सांसदहरूलाई टीका र फूलमालाले स्वागत गर्नुभएको थियो। आयोगका सचिव तथा समानुपातिक प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतले प्रमाणपत्र वितरण गर्नुभएको हो।

समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५७ सांसद निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) बाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार÷चार सांसद निर्वाचित भएका छन्। आयोगले चैत २ गते सोमबार यस नतिजा घोषणा गरिसकेको थियो।

संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभामा कुल २७५ जना सांसद हुन्छन्। पहिलो हुने निर्वाचन प्रणालीतर्फ रास्वपा १२५, कांग्रेस १८, एमाले ९, नेकपा ८, श्रम संस्कृति पार्टी ३ र राप्रपा तथा स्वतन्त्र १÷१ स्थानमा निर्वाचित भएका छन्। समानुपातिक प्रणालीतर्फ ११० सांसद निर्वाचित हुँदै प्रतिनिधिसभाको पूर्ण गठन भएको छ।

प्रतिक्रिया