विश्व हिमनदी दिवस: संरक्षणमा विश्वको ध्यानाकर्षण

mayukarajkumari

काठमाडौँ, 

आज विश्वभर विश्व हिमनदी दिवस मनाइएको छ। संयुक्त राष्ट्रसङ्घ को आह्वानमा गत वर्षदेखि सुरु गरिएको यो दिवस हरेक वर्ष मार्च २० मा मनाइँदै आएको छ। हिमनदीको महत्व तथा यसको संरक्षणबारे विश्वव्यापी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस दिवसको आयोजना गरिन्छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार पृथ्वीको पारिस्थितिक प्रणालीका लागि हिमनदी अत्यन्त महत्वपूर्ण मानिन्छन्। यी हिमनदीहरूले ताजा पानीको प्रमुख स्रोतका रूपमा काम गर्नुका साथै समुद्री सतह सन्तुलनमा राख्न र जैविक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। विश्वका करोडौँ मानिसको जीवनयापन प्रत्यक्ष रूपमा हिमनदीबाट प्राप्त पानीमा निर्भर रहेको छ।

पछिल्लो समय विश्वव्यापी तापक्रम बढ्दै जाँदा हिमनदी तीव्र रूपमा पग्लिरहेका छन्। यसले पानीको अभाव, समुद्री सतह वृद्धि तथा बाढी र पहिरो जस्ता प्राकृतिक विपद्को जोखिम बढाएको छ। यस अवस्थाले विश्वभरको पारिस्थितिक प्रणाली, मानव जीवन र अर्थतन्त्रमा गम्भीर असर पार्ने खतरा बढाएकोप्रति चिन्ता व्यक्त गरिएको छ।

यो चुनौतीलाई सम्बोधन गर्न हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणका लागि ठोस कदम चाल्न आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घले जोड दिएको छ। साथै, हिमनदी संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य र दीगो उपाय अपनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।

प्रतिक्रिया