डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल

mayukarajkumari

काठमाडौँ,

नेपाल
विश्व व्यापार संगठन (डब्ल्युटीओ) अन्तर्गतको व्यापार तथा वातावरण समितिको अध्यक्षमा चयन भएको छ। संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार फागुन २७ गते बसेको महासभा बैठकले नेपाललाई एक वर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।

डब्ल्युटीओको व्यापार तथा वातावरण समिति सदस्य राष्ट्रहरूबीच व्यापार नीतिले वातावरणमा पार्ने प्रभाव तथा वातावरणीय नीतिले अन्तर्राष्ट्रिय व्यापारमा पार्ने असरका विषयमा छलफल समन्वय गर्ने प्रमुख मञ्चका रूपमा परिचित छ। यस समितिले जलवायु परिवर्तनसँग सम्बन्धित व्यापारिक मुद्दाहरूलाई पनि सम्बोधन गर्ने गर्दछ।

अल्पविकसित राष्ट्रहरूको सूचीबाट क्रमशः बाहिरिने चरणमा रहेको नेपालका लागि यो भूमिका महत्वपूर्ण मानिएको छ। यस जिम्मेवारीमार्फत डब्ल्युटीओ सदस्य राष्ट्रहरूसँग सहकार्य सुदृढ गर्दै नेपालको व्यापारलाई अन्तर्राष्ट्रिय बजारसँग थप प्रभावकारी रूपमा जोड्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी ले उक्त समितिमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ।

प्रतिक्रिया