नवनिर्वाचित सांसदको शपथ समारोह तयारी : नयाँ संसद् भवनमा सबैलाई अलग ‘चेम्बर’ व्यवस्था

mayukarajkumari

काठमाडौँ, 

सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ व्यवस्थापनको तयारीमा जुटिरहेको छ। यस सन्दर्भमा सचिवालयले यही चैत ५ गते सूचनामार्फत निर्वाचित सांसदहरुलाई शपथ कार्यक्रममा सहभागी हुन आह्वान गरिसकेको छ।

यही चैत १२ गते अपराह्न २ बजे शपथ समारोह आयोजना गरिएको छ। निर्धारित समयभन्दा दुई घण्टाअगावै औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थित हुन सचिवालयले अनुरोध गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ७८ वर्षीय अर्जुननरसिंह केसी ले यही चैत ११ गते शपथ लिनुहुनेछ। त्यसपछि यही चैत १२ गते निर्वाचित प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्य केसीले शपथ दिलाउने व्यवस्था छ।

नेपालको संविधानको धारा ८८ अनुसार सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनु अनिवार्य छ। धारा ९१ (५) अनुसार प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएमा बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ।

शपथ समारोहपछि नवनिर्वाचित सदस्यलाई प्रतिनिधिसभा सदस्यको प्रतीक चिह्न, संविधान, संसद् नियमावली, सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधासम्बन्धी सामग्री उपलब्ध गराइनेछ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी का अनुसार नवनिर्वाचित सांसदको शपथका लागि आवश्यक व्यवस्थापनमा सचिवालय लागिरहेको छ। उहाँले भन्नुभयो, “सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा सांसदहरुको शपथ र अधिवेशनका प्रारम्भिक बैठकको तयारी भइरहेको छ।”

हलभित्रको भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ भने केही प्राविधिक काम अन्तिम चरणमा पुगेको छ। सुरक्षा लगायत विभिन्न पाटोबाट व्यवस्थापनको काम भइरहेको प्रवक्ता गिरीले स्पष्ट पार्नुभयो। सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान हुने संवैधानिक व्यवस्था छ।

निर्वाचनपछि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल र सांसद सङ्ख्यामा फेरबदल भएकोले सचिवालयले संसदीय दलको कार्यालय पनि सोहीअनुसार व्यवस्थापन गरेको छ। प्रवक्ता गिरीका अनुसार, “सचिवालयभित्रै भएका संसदीय दलका कार्यालयलाई पार्टीको सदस्य सङ्ख्या अनुसार व्यवस्थापन गरिएको छ।”

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेपाली कम्युनिष्ट पार्टी (एमाले)का २५, अन्य कम्युनिष्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ र स्वतन्त्र सांसद एक जना निर्वाचित भएका छन्।

नेपाली कांग्रेस र नेकपा (एमाले)लाई साबिककै संसदीय दलको कार्यालयमा व्यवस्था गरिएको छ। नेकपा (एमाले)ले प्रयोग गर्दै आएको सचिवालय भवन नं २ अन्तर्गतको कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टीका लागि उपलब्ध गराइएको छ। यसअघि रास्वपाले प्रयोग गरेको कार्यालय भवनलाई नेकपा, श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको कार्यालयका रूपमा व्यवस्थापन गरिएको छ।

प्रवक्ता गिरीका अनुसार, “त्यो अल्पकालीन व्यवस्था हो, निर्माणाधीन संसद् भवन सम्पन्न भएपछि सबै दलका कार्यालय सोही भवनभित्र रहनेछन्। नयाँ संसद् भवनमा सबै सांसदलाई बेग्लाबेग्लै ‘चेम्बर’को पनि व्यवस्था गरिएको छ।”

प्रतिक्रिया