अमेरिकी वाणिज्य सचिव लुटनिकले एपस्टिनको टापु भ्रमण गरेको स्वीकारे, राजीनामाको माग बढ्यो

mayukarajkumari

अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले सन् २०१२ मा जेफ्री एपस्टिनको निजी टापु भ्रमण गरेको स्वीकार गरेका छन्। क्यापिटोल हिलमा दिएको बयानमा उनले परिवारसहित छुट्टी मनाउन जाँदा एपस्टिनको टापुमा करिब एक घण्टा लन्च गरेको बताएका हुन्। यसअघि भने उनले सन् २००५ मै एपस्टिनसँग सम्बन्ध तोडेको दाबी गरेका थिए। अमेरिकी न्याय विभागले सार्वजनिक गरेका इमेल अभिलेखमा उक्त भ्रमणको उल्लेख भएपछि विवाद चर्किएको हो।

लुटनिकले एपस्टिनसँग आफ्नो कुनै विशेष सम्बन्ध नभएको र १४ वर्षको अवधिमा जम्मा दुई–तीन पटक मात्र भेट भएको दाबी गरेका छन्। उनले कुनै गलत काममा संलग्नता नरहेको स्पष्ट पारेका छन्। तर डेमोक्र्याट तथा रिपब्लिकन दुवै दलका केही सांसदहरूले उनले कंग्रेस र सर्वसाधारणलाई सम्बन्धको विषयमा गलत जानकारी दिएको आरोप लगाउँदै राजीनामा दिन माग गरेका छन्। ह्वाइट हाउसले भने राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्ण समर्थन लुटनिकलाई रहेको जनाएको छ।

यसैबीच, न्याय विभागले सार्वजनिक गरेका ३५ लाखभन्दा बढी दस्तावेजमा अन्य चर्चित व्यक्तिहरूको नाम पनि उल्लेख गरिएको छ। तीमध्ये केही नाम सुरुमा गोप्य राखिए पनि पछि आंशिक रूपमा सार्वजनिक गरिएको छ। दस्तावेजमा नाम आउनु मात्रले दोषी प्रमाणित नहुने बताइएको छ। उता, एपस्टिनका पीडितहरूको पक्षमा ‘भर्जिनियाज् ल’ नामक विधेयक पारित गर्न दबाब बढाइएको छ, जसले यौन दुव्र्यवहारका पीडितलाई मुद्दा दायर गर्ने समयसीमा हटाउने लक्ष्य राखेको छ।

प्रतिक्रिया