‘नि:सन्तानपन अभिशाप होइन, सामान्य स्वास्थ्य समस्या’

mayukarajkumari

काठमाडौँ, 

पछिल्लो समय बदलिँदो जीवनशैली, अस्वस्थकर खानपान र ढिलो विवाहजस्ता कारणले दम्पतीहरूमा नि:सन्तानपनको समस्या बढ्दै गएको चिकित्सकहरूले बताएका छन्। यो समस्या धनी–गरिब, शिक्षित–अशिक्षित सबै वर्गमा समान रूपमा देखिन थालेको छ।

हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरकी विशेषज्ञ डा. श्वेता ढकालका अनुसार चिकित्सा विज्ञानको दृष्टिले ३५ वर्षमुनिका दम्पतीले एक वर्षसम्म नियमित प्रयास गर्दा पनि गर्भ नठहरेमा र ३५ वर्षमाथिका दम्पतीमा ६ महिनाभित्र सफलता नमिलेमा त्यसलाई नि:सन्तानपन मानिन्छ। उहाँले हालको तथ्याङ्कअनुसार करिब ३०–४० प्रतिशत अवस्थामा पुरुषका कारण, ४० प्रतिशतमा महिलाका कारण र बाँकीमा दुवै वा अज्ञात कारणले समस्या देखिने बताउनुभयो।

उहाँका अनुसार आधुनिक जीवनशैली नै यसको प्रमुख कारक बनेको छ। प्रशोधित खाना, अत्यधिक चिनी, मैदा, जङ्क फुडको प्रयोग, व्यायामको कमी, मानसिक तनाव, पर्याप्त निद्राको अभाव, धुम्रपान तथा मदिरा सेवनले प्रजनन क्षमतामा नकारात्मक असर पारिरहेको छ। महिलामा पीसीओएस जस्ता समस्या र पुरुषमा शुक्रकीटको गुणस्तर घट्ने समस्या बढ्दै गएको बताइएको छ।

सन्तान प्राप्तिका लागि चिकित्सा विज्ञानले आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) प्रविधिलाई प्रभावकारी विकल्पका रूपमा विकास गरेको छ। यस प्रविधिमा महिलाको शरीरबाट अण्डा निकालेर प्रयोगशालामा पुरुषको शुक्रकीटसँग मिलाइ भ्रूण तयार गरिन्छ र पछि पाठेघरमा प्रत्यारोपण गरिन्छ। डा. ढकालका अनुसार यो विधि विशेषगरी पाठेघरको नली बन्द भएका, अण्डा कम भएका, उमेर बढेका वा पुरुषमा शुक्रकीट कमजोर भएका अवस्थामा प्रभावकारी हुन्छ।

आईभीएफ प्रक्रिया धेरै जटिल नभई विभिन्न चरणमा सम्पन्न हुने चिकित्सकहरूको भनाइ छ। यसमा अण्डा उत्पादन बढाउने, अण्डा निकाल्ने, प्रयोगशालामा निषेचन गर्ने, भ्रूण विकास गराउने र अन्त्यमा प्रत्यारोपण गर्ने चरणहरू समावेश हुन्छन्।

समाजमा आईभीएफबाट जुम्ल्याहा बच्चा मात्र जन्मिन्छ भन्ने भ्रम रहेको उल्लेख गर्दै चिकित्सकहरूले त्यसको सम्भावना सीमित मात्र हुने बताएका छन्। साथै, आईभीएफबाट जन्मिएका बच्चाहरू पनि प्राकृतिक रूपमा जन्मिएका जस्तै स्वस्थ हुने र यस प्रविधिले दीर्घकालीन नकारात्मक असर नगर्ने स्पष्ट पारिएको छ।

नेपालमा आईभीएफ उपचार केही खर्चिलो भए पनि विदेशको तुलनामा सस्तो रहेको चिकित्सकहरू बताउँछन्। यहाँ यसको औसत खर्च रु २ लाख ६० हजारदेखि ४–५ लाखसम्म पर्न सक्छ, जुन बिरामीको अवस्थाअनुसार फरक हुन्छ।

डा. ढकालले नि:सन्तानपनलाई अभिशाप नभई सामान्य स्वास्थ्य समस्या भएको उल्लेख गर्दै समयमै विशेषज्ञको सल्लाह लिन, स्वस्थ जीवनशैली अपनाउन र सकारात्मक रहन दम्पतीहरूलाई सुझाव दिनुभएको छ।

प्रतिक्रिया