काठमाडौँमा आजदेखि रात्रिकालीन विद्युतीय बस सेवा सुरु

mayukarajkumari

काठमाडौँ,

काठमाडौँ महानगरपालिकाले आजदेखि रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याएको छ। साझा यातायात सँगको सहकार्यमा साँझ ७ बजेदेखि पुल्चोकबाट सेवा शुभारम्भ गरिएको कामपाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो।

पहिलो चरणमा लगनखेल–बूढानीलकण्ठ र थानकोट–अन्तरराष्ट्रिय विमानस्थल रुटमा विद्युतीय बस सञ्चालन गरिनेछ। लगनखेलबाट पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूतिगृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गङ्गालाल हृदय केन्द्र हुँदै बूढानीलकण्ठसम्मको करिब १६ किलोमिटर दूरीको रुट निर्धारण गरिएको छ।

त्यस्तै थानकोटबाट सतुङ्गल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म करिब २० किलोमिटर दूरीको अर्को रुट सञ्चालन हुनेछ। यी दुवै रुटमा चार वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन गरिने महानगरले जनाएको छ।

महानगरका अनुसार राति ८ बजेपछि सार्वजनिक यातायात अभावका कारण महँगो भाडा तिर्नुपर्ने समस्यालाई समाधान गर्न यो सेवा सुरु गरिएको हो। यसबाट विशेषगरी महिला, विद्यार्थी तथा रातिको समयमा यात्रा गर्ने सर्वसाधारणलाई सहज हुने विश्वास लिइएको छ।

सेवा साँझदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ भने हरेक २० मिनेटमा बस उपलब्ध हुनेछ। बसमा सिसिटिभी क्यामरा जडान गरिनुका साथै सुरक्षाका लागि नगरप्रहरी परिचालन गरिने व्यवस्था मिलाइएको छ। महानगरले सेवा सुरक्षित, सहज, भरपर्दो र दिगो बनाउने लक्ष्य राखेको जनाएको छ।

प्रतिक्रिया