काठमाडौँ,
हिंसापीडित महिलाले न्यायका लागि राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। उनीहरूले ‘महिला अधिकार सुनिश्चित गर्’, ‘महिला हिंसा अन्त्य गर्’, ‘महिला आयोग किन चुप् ?’, ‘इनिशा विक र रेश्मिका परियारलाई न्याय देऊ’, ‘छोरी चेलीको रक्षा गर्’ जस्ता नाराका साथ आफ्नो माग राखेका हुन्।
पीडित पक्षले सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या घटनाको शीघ्र छानबिन गर्नुपर्ने र खोटाङकी रेश्मिका परियारको बलात्कारपछि हत्या घटनामा संलग्न दोषीलाई कानुनअनुसार कारबाही गर्न माग गरेका छन्। उनीहरूले माइतीघर मण्डलामा न्यायका लागि धर्ना बसे पनि न्यायका लागि कुनै सुनुवाइ नभएको भन्दै महिला आयोगको ध्यानाकर्षण गराएका हुन्।
पीडित पक्षको मागमा खोटाङ सेवा समाजले ऐक्यबद्धता जनाएको छ। सचिव नवराज रोकालेले जानकारी दिनुभयो कि पीडितले सकेसम्म चाँडो न्याय पाउनु पर्ने र पीडकले कडाभन्दा कडा सजाय पाउनु पर्ने बताइएको छ।