काठमाडौँ,
मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका नेपाली नागरिकलाई तत्काल स्वदेश फर्काउन सम्भव नभएको अवस्थामा नेपाल सरकारले उनीहरूलाई हाल रहेका स्थानमै सुरक्षा प्रदान गर्ने निर्णय गरेको छ। आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीय तनावका कारण विमानस्थलहरू बन्द रहेकाले तत्काल उद्धार सम्भव नभएको निष्कर्ष निकाल्दै यस्तो व्यवस्था गर्ने निर्णय गरेको हो।
बैठकपछि जानकारी दिँदै परराष्ट्रमन्त्री बालानन्द शर्माले अहिलेको अवस्था सामान्य नरहेको र हवाई सेवा अवरुद्ध हुँदा यात्रुहरूलाई न फर्काउन सकिने न त गन्तव्यतर्फ पठाउन सकिने अवस्था रहेको बताउनुभयो। त्यसैले तत्कालका लागि नेपाली नागरिकलाई सुरक्षित रूपमा बस्ने व्यवस्था मिलाउन सरकार केन्द्रित भएको उहाँको भनाइ थियो।
सरकारले मध्यपूर्व क्षेत्रमा बढ्दो तनावलाई ध्यानमा राख्दै सम्बन्धित देशहरूमा रहेका नेपाली दूतावासलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ। साथै ट्रान्जिटमा रहेका नेपाली यात्रुको अवस्था निरन्तर अनुगमन गर्न र आवश्यक सहयोग उपलब्ध गराउन पनि कूटनीतिक नियोगहरूलाई सक्रिय बनाइएको जनाइएको छ। प्रभावित क्षेत्रका लागि आधिकारिक ट्राभल एडभाइजरीसमेत जारी गरिएको छ।
मन्त्री शर्माका अनुसार राजदूतावासमार्फत नेपाली नागरिकलाई सम्भव भएसम्म गन्तव्यसम्म पुर्याउने तथा यात्रा गर्न नसक्नेहरूलाई होटलमा सुरक्षित बसोबासको व्यवस्था मिलाइएको छ। सम्बन्धित एयरलाइन्स तथा सेवा प्रदायक कम्पनीसँग समन्वय गरेर यात्रुको हेरचाह सुनिश्चित गर्ने प्रयास भइरहेको सरकारको भनाइ छ। मन्त्रिपरिषद् बैठकमा नेपाली नागरिकमाथि परेको प्रभाव र दीर्घकालीन समाधानका उपायबारे समेत विस्तृत छलफल भएको बताइएको छ।