इरानका प्रभावशाली सुरक्षा नीति निर्माता अली लारिजानीको इजरायलद्वारा गरिएको हवाई आक्रमणमा मृत्यु भएपछि इरानको नेतृत्व संकट अझ गहिरिएको छ। राज्य सञ्चारमाध्यमले पुष्टि गरेको यो घटनाले युद्धकै संवेदनशील समयमा देशको नीति निर्माण तहमा ठूलो धक्का पुगेको विश्लेषण गरिएको छ।
लारिजानी सैनिक कमाण्डर नभए पनि राष्ट्रिय सुरक्षा, कूटनीति र युद्धसम्बन्धी निर्णय प्रक्रियामा केन्द्रीय भूमिका निर्वाह गर्दै आएका थिए। सुप्रीम नेशनल सेक्युरिटी काउन्सिल का सचिवका रूपमा उनले अमेरिका र इजरायलसँगको टकराव व्यवस्थापनमा प्रभावशाली भूमिका खेलेका थिए। अली खामेनेई को गत फागुन २८ मा भएको मृत्युपछि उनले लामो संघर्षका लागि तयार रहनुपर्ने धारणा सार्वजनिक गरेका थिए।
लारिजानीको मृत्यु पछिल्ला केही सातामा इरानका उच्च अधिकारी र कमाण्डरहरू मारिने क्रमकै हिस्सा भएको देखिएको छ, जसले युद्धका बीच नेतृत्व संरचना कमजोर पार्ने सुनियोजित प्रयास भएको संकेत गर्छ। यद्यपि उनी पश्चिमप्रति कडा धारणा राख्ने नेताका रूपमा चिनिए पनि रणनीतिक रूपमा व्यावहारिक सोच राख्ने व्यक्तिका रूपमा समेत परिचित थिए।
मृत्यु हुनुअघि उनले तीन प्रमुख संकट व्यवस्थापन गरिरहेका थिए—इरान–पश्चिम युद्ध, आन्तरिक जनआन्दोलन तथा आणविक कार्यक्रमसँग सम्बन्धित जटिलता। उनको अनुपस्थितिमा यी सबै मुद्दा अझ जटिल बनेका छन् र नयाँ नेतृत्वका लागि चुनौतीपूर्ण अवस्था सिर्जना भएको छ।
यस घटनापछि इरानमा सैन्य प्रभाव अझ बढ्न सक्ने संकेत देखिएको छ। राष्ट्रपति मसउद पेजेशकियन का अभिव्यक्तिअनुसार शीर्ष नेतृत्व कमजोर भएमा सैन्य निकायलाई व्यापक अधिकार दिइएको छ। साथै नयाँ सर्वोच्च नेताका रूपमा मोज्तबा खामेनेई को भूमिकाबारे अस्पष्टता देखिएको छ।
यसैबीच इरानी सेना प्रमुख अमिर हातामी ले लारिजानीको मृत्युको बदला लिन “निर्णायक” कारबाही गर्ने चेतावनी दिएका छन्। विश्लेषकहरूका अनुसार यो घटनाले इरानमा राजनीतिक अस्थिरता, युद्धको तीव्रता र आन्तरिक दमन अझ बढ्ने सम्भावना देखाएको छ।