भैरहवा बजारमा एलपी ग्यास अभाव, आपूर्ति भने नियमित

mayukarajkumari

सिद्धार्थनगर (भैरहवा), 

भैरहवा
क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिन थालेको छ। उपभोक्ताहरूले ग्यास सहज रूपमा पाउन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। यद्यपि, ग्यास आयातमा कमी नभएको जनाइएको छ।

स्थानीय उपभोक्ताहरूका अनुसार, एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना भएको छ। ग्यास विक्रेताले पनि मौज्दात सकिएको भन्दै उपभोक्तालाई फर्काइदिने गरेको बताएका छन्। लामो समयसम्म पालो कुर्दा पनि खाना पकाउन ग्यास नपाएको स्थानीय प्रदीप ज्ञवालीले बताए। नियमित भान्छा चलाउन नपाउँदा दैनिक जीवन कष्टकर भएको उनी बताए।

ग्यास विक्रेताले भने कम्पनीबाट पर्याप्त ग्यास उपलब्ध नभएको कारणले बजारमा अभाव देखिएको बताएका छन्। मागअनुसारको आपूर्ति नहुँदा उपभोक्तालाई ग्यास उपलब्ध गराउन नसकेको उनीहरूको भनाइ छ।

तर भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार ग्यास आयात नियमित रूपमा भइरहेको छ। केही दिन निर्वाचनका कारण आयातमा सामान्य समस्या देखिएको भए पनि अहिले अवस्था सामान्य भइसकेको छ। दैनिक रूपमा ग्यास बोकेका बुलेट ट्याङ्कर नाकाबाट नेपाल भित्रिने क्रम जारी रहेको जनाइएको छ।

स्थानीय ग्यास विक्रेताका अनुसार, उपभोक्ताले सम्भावित अभावको डरले आवश्यकभन्दा बढी ग्यास मौज्दात राख्न थालेपछि बजारमा अभाव देखिएको हो। पहिले दैनिक सीमित सङ्ख्यामा बिक्री हुने ग्यास सिलिण्डर अहिले केही घण्टामै सकिने भएको बताइएको छ।

सीमावर्ती क्षेत्रमा भने नेपालबाट भारततर्फ ग्यास सिलिण्डर लैजाने प्रयाससमेत बढेको छ। भारतीय बजारमा ग्यासको मूल्य बढी हुनुका साथै अभाव देखिएकाले सीमावर्ती क्षेत्रका बासिन्दाहरूले अवैध रूपमा ग्यास सिलिण्डर भारततर्फ लैजाने गरेको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले सीमाबाट ग्यासको अवैध ओसारपसार हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर निगरानी कडा पारिएको जानकारी दिनुभयो। सीमावर्ती इलाका प्रहरी कार्यालय बेलहियाले भारततर्फ लैजाँदै गरेको नेपालतर्फ ल्याइँदै गरेको केही ग्यास सिलिण्डर नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले सीमामा निगरानी बढाएको अवैध ओसारपसार रोक्न आवश्यक कदम चालिएको बताएको छ।

प्रतिक्रिया