आन्तरिक पर्यटक आकर्षित गर्न पोखरा मा ‘जाउँ है पोखरा’ अभियान सुरु

mayukarajkumari

गण्डकी, 

पोखरा
मा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पूर्वी नेपालका प्रमुख सहरलाई लक्षित गरी ‘जाउँ है पोखरा’ अभियान सुरु गरिएको छ। अभियान होटेल सङ्घ नेपाल (हान) पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको समन्वयमा सञ्चालन भइरहेको छ, जुन चैत १३ गतेसम्म जारी रहनेछ।

विगत २२ वर्षदेखि सञ्चालन हुँदै आएको यस अभियानअन्तर्गत वीरगञ्ज, हेटौंडा, विराटनगर र इलामलगायत सहरमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिने हान पोखराका अध्यक्ष लक्ष्मण सुवेदी ले जानकारी दिनुभयो। अभियानमा पर्यटन व्यवसायी, होटेल व्यवसायी तथा सञ्चारकर्मी सहभागी १९ सदस्यीय टोलीले पूर्वी नेपालका पर्यटन व्यवसायीसँग अन्तरक्रिया, साझेदारी विस्तार र प्रचारप्रसार गर्ने कार्यक्रम तय गरिएको छ।

अभियानकै क्रममा आन्तरिक पर्यटकलाई आकर्षित गर्ने विभिन्न आकर्षक प्याकेजसमेत सार्वजनिक गरिने जनाइएको छ। साथै हरेक वर्ष नयाँ वर्षका अवसरमा आयोजना गरिँदै आएको फेवा नव वर्ष महोत्सव को २१औँ संस्करणका लागि पूर्वी नेपालका स्थानीयलाई निम्तो दिनु पनि अभियानको उद्देश्य रहेको छ। महोत्सव चैत २९ गतेदेखि वैशाख १ गतेसम्म फेवाताल किनारको लेकसाइड क्षेत्रमा आयोजना हुनेछ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने ले पोखरालाई पर्यटनको राजधानीका रूपमा स्थापित गर्दै पर्यटकको पहिलो रोजाइको गन्तव्य बनाउन यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

कार्यक्रममार्फत पूर्वी नेपाल र पोखराबीच पर्यटन साझेदारी विस्तार गर्ने लक्ष्य राखिएको छ। साथै, विगतमा सञ्चालनमा रहेका भद्रपुर र विराटनगरसम्मका सिधा हवाई सेवा पुनः सञ्चालन गर्न तथा ती सहरबाट पोखरासम्म स्तरीय पर्यटक बस सेवा सञ्चालनका लागि सहकार्यको प्रस्ताव पनि राखिने जनाइएको छ।

पोखराको होटेल क्षेत्रमा करिब छ खर्ब लगानी भइसकेको र यहाँ करिब एक हजार २०० होटल सञ्चालनमा रहेको जानकारी दिँदै अध्यक्ष सुवेदीले यस क्षेत्रबाट करिब १५ हजार जनाले प्रत्यक्ष रोजगारी पाएको बताउनुभयो।

प्रतिक्रिया