बेइरुत/यौनिन,
लेबनानमा हिज्बुल्लाहसँग सम्बन्धित लक्ष्यमा आक्रमण गर्ने क्रममा इजरायलले गरेको हवाई हमलामा एउटै परिवारका आठ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन बालबालिका पनि रहेका छन्। घटना उत्तरपूर्वी लेबनानको यौनिन सहरमा भएको हो।
स्थानीय बासिन्दाका अनुसार बुधबार साँझ रमजानको रोजा खोल्ने (इफ्तार) तयारीका क्रममा परिवारका सदस्यहरू घरमा भेला भएका बेला आक्रमण भएको थियो। पाँच, नौ र १४ वर्षका बालबालिकासहित परिवारका सदस्यहरूको ज्यान गएको बताइएको छ। आक्रमणपछि घर पूर्ण रूपमा ध्वस्त भएको छ र वरपर बालबालिकाका खेलौना तथा पसलका सामान छरिएका अवस्थामा भेटिएका छन्।
इजरायली सेनाले भने हिज्बुल्लाहका लडाकुहरू उपस्थित रहेको “हिज्बुल्लाहको पूर्वाधार”लाई लक्षित गरेर आक्रमण गरिएको जनाएको छ। तर घटनास्थलमा रहेका स्थानीयवासी र मृतकका आफन्तहरूले उक्त घरमा कुनै सैन्य गतिविधि नभएको दाबी गरेका छन्।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला करिब दुई सातादेखि इजरायल र हिज्बुल्लाहबीच पुनः सुरु भएको द्वन्द्वपछि इजरायलले लेबनानका विभिन्न क्षेत्रमा सयौँ हवाई आक्रमण गरेको छ। ती आक्रमणमा हालसम्म ८०० भन्दा बढी मानिसको मृत्यु भइसकेको बताइएको छ। मृत्यु हुनेमा स्वास्थ्यकर्मीहरू समेत रहेका छन्।
इजरायलले हिज्बुल्लाहले नागरिक बस्तीभित्र आफ्नो सैन्य संरचना राखेको आरोप लगाउँदै आएको छ। यद्यपि यौनिनमा भएको आक्रमणमा मारिएका सबै नागरिक भएको स्थानीयवासीको दाबी छ। लेबनानी सेनाले घटनास्थलको निरीक्षण गर्दा त्यहाँ कुनै हतियार वा सैन्य सामग्री नभेटिएको स्थानीय अधिकारीहरूले बताएका छन्।
घटनापछि धेरै स्थानीय बासिन्दा त्रासका कारण घर छोडेर अन्यत्र सरेका छन्। इजरायली आक्रमणका कारण लेबनानमा हालसम्म लाखौँ मानिस विस्थापित भएको जनाइएको छ।