चितवन,
जिल्ला प्रहरी कार्यालय चितवनले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘घुमौँ चितवन’ कार्यक्रम पुनः सुरु गरेको छ। युवापुस्ता (जेन–जी) सम्बन्धी गतिविधि, प्रदर्शन तथा निर्वाचनका कारण केही समयदेखि स्थगित रहेको कार्यक्रम पुनः सञ्चालनमा ल्याइएको हो।
यस कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा कार्यरत प्रहरी कर्मचारीलाई एक ठाउँबाट अर्को भूगोलमा लगेर त्यहाँका पर्यटकीय गन्तव्यमा अवलोकन गराइने गरिएको छ। यसले प्रहरी कर्मचारीबीच भाइचारा सम्बन्ध सुदृढ बनाउने, अनुभव आदानप्रदान गर्ने र आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार कार्यक्रममा प्रहरीलाई तनाव व्यवस्थापन गर्ने, रचनात्मक तथा मनोरञ्जनात्मक गतिविधिमा सहभागी गराउने उद्देश्य राखिएको छ। डुङ्गा सयर, र्याफ्टिङ, हाइकिङलगायत गतिविधिसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र समेत पर्यटकीय गतिविधिमा सहभागी गराउने गरिएको उहाँले जानकारी दिनुभयो।
कार्यक्रमअन्तर्गत प्रहरी कर्मचारीलाई छिमेकी जिल्लामा समेत लगेर त्यहाँका पर्यटकीय सम्पदाको अवलोकन गराउने, विभिन्न गतिविधिमा सहभागी गराउने तथा ज्ञान अभिवृद्धि गर्ने व्यवस्था मिलाइएको छ। आलोपालो प्रणालीमा सञ्चालन हुने यस कार्यक्रमले प्रहरी कर्मचारीलाई पुनर्ताजगीका साथै नयाँ भूगोलबारे जानकारी हासिल गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हाल जिल्लामा करिब नौ सय प्रहरी कार्यरत रहेका छन्। जिल्ला ट्राफिक प्रहरीसहित आठ इलाका र कुल ७३ वटा युनिटमार्फत प्रहरीले सेवा प्रवाह गर्दै आएका छन्।