इलाम,
दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा तेस्रो ‘रेडपाण्डा महोत्सव’ आयोजना हुने भएको छ। आगामी चैत २० देखि २३ गतेसम्म सन्दकपुर गाउँपालिका–४ कालपोखरीमा महोत्सव सञ्चालन गरिने जनाइएको छ।
काठमाडौँमा सोमबार आयोजित पत्रकार भेटघाटमा महोत्सव आयोजक समितिका संयोजक सनम राईले ‘रेडपाण्डा ट्रेल’मा आधारित पदमार्ग पर्यटनलाई केन्द्रमा राखेर कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो। करिब ४० किलोमिटर लामो उक्त पदमार्गले माईपोखरीदेखि जौबारीसम्मका विभिन्न पर्यटकीय गन्तव्यहरूलाई जोड्नेछ, जहाँ रेडपाण्डासहित विविध वन्यजन्तु, चराचुरुङ्गी तथा जैविक विविधताको अध्ययन–अवलोकन गर्न सकिन्छ।
महोत्सवका मुख्य आकर्षणमा रेडपाण्डा पदयात्रा अनुभव, जङ्गल सफारी, चराहरूको अवलोकन तथा गुराँसका १८ प्रजातिको अध्ययन रहनेछन्। साथै, स्थानीय आदिवासी जनजातिको संस्कृति अवलोकन गर्ने अवसर पनि प्रदान गरिनेछ। आयोजकका अनुसार सगरमाथासहित ६० भन्दा बढी हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने क्षेत्र भएकाले यसले पर्यटकलाई थप आकर्षित गर्ने अपेक्षा गरिएको छ।
महोत्सवमार्फत आन्तरिक तथा बाह्य गरी करिब १० हजार पर्यटक सन्दकपुर भित्र्याउने लक्ष्य राखिएको छ। सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले महोत्सवले स्थानीय पर्यटन गन्तव्यहरूको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
यसअघि पहिलो रेडपाण्डा महोत्सव २०८० चैत २७ देखि वैशाख १ गतेसम्म र दोस्रो महोत्सव २०८१ चैत २० देखि २३ गतेसम्म आयोजना गरिएको थियो। रेडपाण्डाको संरक्षणसँगै पूर्वी नेपालको वनजङ्गल पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ महोत्सवलाई निरन्तरता दिइएको हो।
झापाको चारआलीबाट करिब ७५ किलोमिटर दूरीमा इलाम बजार पुगिन्छ भने त्यहाँबाट थप १८ किलोमिटर यात्रा गरेपछि सन्दकपुर गाउँपालिकाको रामसार क्षेत्रमा पुग्न सकिन्छ। उक्त क्षेत्रको पर्यटन सूचना केन्द्रको सहयोगमा विभिन्न पर्यटकीय गन्तव्यहरूको अवलोकन गर्न सकिने व्यवस्था रहेको छ।