नयाँ वर्षलाई नवसङ्कल्प र नयाँ कामको थालनीको अवसरका रूपमा लिन उपराष्ट्रपतिको आग्रह

mayukarajkumari

काठमाडौँ,

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षलाई नौलो कामको थालनी, सकारात्मक सोचको विकास तथा स्वस्थ जीवनशैलीका लागि नवसङ्कल्प गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ। नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले यसले व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।

उपराष्ट्रपतिले नयाँ वर्षले जीवनमा अनुशासन, स्थिरता र सकारात्मकता बढाउने उल्लेख गर्दै सामाजिक र सांस्कृतिक क्षेत्रमा अपनत्व, सहिष्णुता र भाइचारालाई अझ सुदृढ बनाउने अवसर प्रदान गर्ने बताउनुभयो। साथै, आर्थिक उन्नयन, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र जलवायु परिवर्तनजस्ता विषयमा एकजुट भएर अघि बढ्ने आवश्यकता रहेको उहाँको भनाइ थियो।

उहाँले संविधानले निर्दिष्ट गरेका समानुपातिक प्रतिनिधित्व, सुशासन र समाजवादप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन नयाँ वर्षले सबैलाई प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो।

यसै अवसरमा उपराष्ट्रपतिले तराई–मधेसमा मनाइने ‘सतुवाइन’, ‘जुडशीतल’ र ‘सिरुवा पावनी’ तथा काठमाडौँ उपत्यकाको ‘विस्का जात्रा’को पनि शुभकामना व्यक्त गर्नुभएको छ। उहाँका अनुसार यी पर्व तथा जात्राले आपसी मेलमिलाप, सद्भाव र भाइचारालाई प्रोत्साहन गर्दै सांस्कृतिक विविधता र ऐतिहासिक परम्परालाई उजागर गर्छन्।

उपराष्ट्रपतिले यस्ता पर्वहरूले नेपालको मौलिक पहिचानलाई बलियो बनाउने र सामाजिक समरसता तथा राष्ट्रिय एकतालाई जीवन्त राख्न महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभएको छ।

प्रतिक्रिया