वैदेशिक व्यापार असन्तुलित, सात महिनामै नौ खर्बभन्दा बढी घाटा

mayukarajkumari

काठमाडौँ,

चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा बढे पनि व्यापार घाटा भने उच्च रहेको देखिएको छ। भन्सार विभागका अनुसार समीक्षा अवधिमा कुल रु १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख बराबरको वैदेशिक व्यापार भएको छ।

यस अवधिमा मुलुकले रु ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख बराबरको वस्तु आयात गर्दा रु एक खर्ब ६८ अर्ब १४ करोड ५८ लाख बराबरको मात्र निर्यात गरेको छ। परिणामस्वरूप सात महिनामै रु नौ खर्ब ५५ अर्ब ३४ करोड तीन लाख बराबरको व्यापार घाटा व्यहोर्नुपरेको विभागले जनाएको छ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भारतसँग मात्रै रु छ खर्ब २९ अर्ब २९ करोड ५९ लाखको आयात भएको छ भने रु एक खर्ब ३७ अर्ब ५१ करोड ७४ लाखको निर्यात भएको छ। यसबाट भारतसँग रु चार खर्ब ९१ अर्ब ७७ करोड ५१ लाख बराबरको व्यापार घाटा देखिएको छ। चीनसँग रु दुई खर्ब ३५ अर्ब ३८ करोड २३ लाखको आयात र रु ९० करोड एक लाखको निर्यात हुँदा रु दुई खर्ब ३४ अर्ब ४८ करोड २२ लाख घाटा भएको छ।

त्यसैगरी अर्जेन्टिनासँग रु ६६ अर्ब ११ करोड ६६ लाख, संयुक्त अरब इमिरेट्ससँग रु ३९ अर्ब ७७ करोड ९८ लाख र इन्डोनेसियासँग रु १२ अर्ब ६४ करोड ४५ लाख बराबरको व्यापार घाटा रहेको छ। यद्यपि रोमानिया, नर्वे र आइसल्याण्डसँग भने क्रमशः रु पाँच करोड ५२ लाख, रु तीन करोड ३३ लाख र रु दुई करोड ५७ लाख बराबरको व्यापार नाफा भएको छ।

आयाततर्फ पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा बढी देखिएको छ। सात महिनामा रु ६९ अर्ब ९१ करोड २२ लाखको डिजेल, रु ३८ अर्ब १३ करोड ८६ लाखको पेट्रोल र रु ३१ अर्ब ८५ करोड नौ लाख बराबरको खाना पकाउने ग्यास आयात गरिएको छ। साथै फलाम तथा फलामजन्य वस्तु, स्मार्टफोन, कच्चा सोयाबिन तेल र सुनको आयात पनि उच्च रहेको छ।

निर्याततर्फ सोयाबिन तेल सबैभन्दा बढी निर्यात भएको वस्तु बनेको छ, जसको मूल्य रु ६६ अर्ब ७८ करोड ८७ लाख पुगेको छ। यसपछि अलैँची, सूर्यमुखी तेल र कार्पेट प्रमुख निर्यातित वस्तुका रूपमा रहेका छन्।

प्रतिक्रिया