काठमाडौँ,
सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेसँगै स्वास्थ्य सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले वैकल्पिक व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका अस्पतालहरुलाई आइतबारको दिन पनि सेवा सञ्चालन गर्न आग्रह गरेको छ। मन्त्रालयले अस्पतालको कार्यबोझ र उपलब्ध जनशक्तिको आधारमा बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको हो।
त्यसैगरी, सेवा सञ्चालनका क्रममा संलग्न कर्मचारीलाई शनिबार बाहेक अर्को एक दिन बिदा दिने व्यवस्था मिलाउन भनिएको छ। यदि तत्काल बिदा दिन सम्भव नभएमा सट्टा बिदा प्रदान गरेर सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने मन्त्रालयले जनाएको छ।
यसै अनुरूप, प्रादेशिक अस्पतालहरू तथा सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई पनि आवश्यक व्यवस्थापन गरी सेवा प्रभावकारी बनाउन सङ्घीय स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।