काठमाडौँ,
अन्तर्राष्ट्रिय ओलम्पिक समितिले सन् २०२८ देखि ओलम्पिकका महिला विधामा ‘जैविक महिला’ मात्र सहभागी हुन पाउने नयाँ नीति लागू गर्ने निर्णय गरेको छ। यो नियम लस एन्जलस ओलम्पिक २०२८ देखि कार्यान्वयनमा आउने जनाइएको छ।
अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष किर्स्टी कोभेन्ट्री का अनुसार महिला खेलमा निष्पक्षता र सुरक्षालाई ध्यानमा राख्दै चिकित्सा विशेषज्ञहरूको सुझावका आधारमा यस्तो निर्णय गरिएको हो। नयाँ व्यवस्थाअनुसार खेलाडीको योग्यता ‘एसआरवाई जीन’ परीक्षणमार्फत निर्धारण गरिनेछ, जसले पुरुष जैविक विशेषता पहिचान गर्ने गर्दछ। यो परीक्षण जीवनमा एकपटक मात्र गरिने बताइएको छ।
यस नीतिअनुसार ट्रान्सजेन्डर महिला तथा पुरुष यौवनावस्था पार गरेका ‘डिफरेन्स अफ सेक्स डेभलपमेन्ट’ भएका खेलाडीहरू महिला वर्गमा प्रतिस्पर्धा गर्न अयोग्य ठहरिनेछन्। यद्यपि उनीहरू पुरुष वा खुला (ओपन) वर्गमा प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था रहनेछ।
यसअघि अन्तर्राष्ट्रिय ओलम्पिक समितिले महिला खेलमा सहभागी हुने मापदण्ड निर्धारण गर्ने जिम्मा सम्बन्धित अन्तर्राष्ट्रिय खेल महासंघहरूलाई दिएको थियो। कतिपय खेलहरूमा टेस्टोस्टेरोन स्तर घटाएमा ट्रान्सजेन्डर महिलालाई प्रतिस्पर्धा गर्न दिइएको भए पनि पछिल्ला वर्षहरूमा एथलेटिक्स, स्विमिङ लगायतका खेलमा कडा प्रतिबन्ध लागू हुँदै आएको थियो।
नयाँ निर्णयपछि खेलकुद क्षेत्रमा समर्थन र विरोध दुवै प्रतिक्रिया आएका छन्। समर्थकहरूले यसले महिला खेलमा निष्पक्षता कायम गर्ने बताएका छन् भने विरोधीहरूले यसलाई मानव अधिकारविरुद्ध, भेदभावपूर्ण र वैज्ञानिक रूपमा जटिल विषयलाई सरल बनाउने प्रयास भएको टिप्पणी गरेका छन्।
अन्तर्राष्ट्रिय ओलम्पिक समितिले भने महिला वर्गको संरक्षण, निष्पक्ष प्रतिस्पर्धा र खेलाडीको सुरक्षालाई प्राथमिकता दिँदै व्यापक अध्ययन र परामर्शपछि नीति ल्याइएको स्पष्ट पारेको छ। साथै, परीक्षण प्रक्रिया सम्मानजनक र गोपनीय हुने तथा खेलाडीलाई आवश्यक परामर्श उपलब्ध गराइने जनाएको छ।