रङ, उमङ्ग र सद्भावका साथ तराईमा होली उत्सव मनाइँदै

mayukarajkumari

मध्यविन्दु (नवलपरासी),

रङहरूको पर्व होली आज तराईका विभिन्न जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। हिमाली तथा पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराई क्षेत्रमा होली मनाउने परम्परा अनुसार आज यहाँका नागरिकहरूले उल्लासपूर्ण वातावरणमा यो पर्व मनाउन थालेका छन्।

नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायत तराईका जिल्लामा आज सार्वजनिक बिदासहित होली मनाइँदैछ। पहाडी जिल्लामा सोमबार सार्वजनिक बिदा दिइएको थियो भने तराईमा आज बिदा दिइएको हो।

मगर र थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होली विशेष महत्त्वका साथ मनाइन्छ। सबै प्रकारका भेदभावलाई अन्त्य गर्दै एकअर्कामा रङ दल्ने, नाचगान गर्ने र रमाइलो साटासाट गर्ने परम्पराले होलीलाई समानता र सद्भावको पर्वका रूपमा स्थापित गरेको छ। पण्डित त्रिलोचन भुर्तेलका अनुसार होली असत्यमाथि सत्य, छलमाथि निष्कपटता र अधर्ममाथि धर्मको विजयको प्रतीक हो। उहाँले धार्मिक महत्वसँगै सामाजिक सद्भाव र आपसी एकता प्रवर्द्धनमा यस पर्वको विशेष भूमिका रहेको बताउनुभयो।

प्राचीनकालमा वसन्तोत्सवका रूपमा सुरु भएको होली पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका र ढुण्ढा जस्ता पौराणिक पात्रहरूसँग जोडिँदै फागु, फगुवा, होरी आदि नामबाट मनाइँदै आएको छ। ढोल, डम्फु र मृदङ्गको तालमा नाचगान गर्दै रसरङ्ग, खानपिन र मनोरञ्जनका साथ मनाइने यो पर्वले मनोमालिन्य त्यागी भ्रातृत्व भावना अभिवृद्धि गर्ने सन्देश दिँदै आएको छ।

यसैबीच, नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होलीलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार अनुमतिबिना रङ दल्ने, लोला हान्ने, झैझगडा गर्ने वा अभद्र व्यवहार गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याइनेछ। प्रहरीले अपरिचित व्यक्तिसँग होली नखेल्न, कसैको इच्छाविपरीत रङ नदल्न, हानिकारक केमिकल रङ प्रयोग नगर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन र कुनै आपराधिक गतिविधि देखिएमा तुरुन्त प्रहरीको हटलाइन १०० मा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिक्रिया