काठमाडौँ,
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागुऔषध जस्तो देखिने तरल पदार्थसहित एक अमेरिकी नागरिक पक्राउ परेका छन्। प्रहरीले गाँजा/भाङको तेल जस्तो देखिने पदार्थसहित उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा ४६ वर्षीय ओग्नियन पेट्रोभ रहेका छन्। उनी नागरिक राहदानी नम्बर ए ८३४८८४८७ का वाहक भएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो।
उहाँका अनुसार एअर इण्डियाको उडान नम्बर एआई २१८ मार्फत काठमाडौँबाट दिल्ली जान लागेका पेट्रोभको लगेज चेकिङका क्रममा स्क्रिनिङ गर्दा शङ्कास्पद देखिएको थियो। त्यसपछि खोलेर जाँच गर्दा एक दशमलव २५ लिटर क्षमताका पाँच वटा बोतलमा गाँजा/भाङको तेल जस्तो देखिने तरल पदार्थ फेला परेको थियो।
पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीको जिम्मा लगाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।