ब्राजिलमा बाढी र पहिरोको कहर, कम्तीमा २५ जनाको मृत्यु

mayukarajkumari

ब्राजिल,

ब्राजिलमा भारी वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ । दक्षिण–पूर्वी राज्य मिनास जेरेइसमा सोमबार साँझ परेको अविरल वर्षाले व्यापक क्षति पुर्‍याएको हो । अधिकारीहरूका अनुसार सबैभन्दा बढी प्रभावित जुइज दे फोरा सहरमा १८ जनाको ज्यान गएको छ भने उबा क्षेत्रमा थप सात जनाको मृत्यु पुष्टि भएको छ ।

धेरै घर तथा भवन भत्किँदा दर्जनौँ व्यक्ति बेपत्ता भएकाले उद्धार टोली र स्थानीय बासिन्दाले खोजी कार्य जारी राखेका छन् । बाढी र पहिरोका कारण सयौँ परिवार विस्थापित भएका छन् भने जुइज दे फोरामा मात्रै करिब ४४० जना घरबारविहीन बनेका छन् । स्थानीय प्रशासनले अस्थायी आश्रयको व्यवस्था गर्दै खाद्यान्न, पानी, लत्ताकपडा र सरसफाइ सामग्री सहयोगका लागि अपिल गरेको छ ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित क्षेत्रमा “विपद् अवस्था” घोषणा गरिएको जानकारी दिएका छन् । सरकारले मानवीय सहायता तथा पुनर्निर्माण कार्य तीव्र रूपमा अघि बढाउने उनले बताएका छन् । राज्यका गभर्नर रोमेउ जेमाले पनि घटनालाई दुःखद दिन भन्दै पीडितप्रति ऐक्यबद्धता जनाएका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार यस वर्ष फेब्रुअरी महिनामा परेको वर्षा जुइज दे फोराको इतिहासमै सबैभन्दा धेरै भएको छ । राष्ट्रिय मौसम निकायले ब्राजिलका विभिन्न क्षेत्रमा, विशेष गरी रियो दि जेनेरियोसहित १२ राज्यमा भारी वर्षाको चेतावनी जारी गरेको छ । वर्षायामको चरम समयमा बाढी र पहिरो ब्राजिलमा सामान्य भए पनि हालको क्षति गम्भीर रहेको बताइएको छ ।

यसअघि पनि सन् २०२४ मा रियो ग्रान्दे दो सुल राज्यमा आएको भीषण बाढीमा करिब २०० जनाको ज्यान गएको थियो, जसले लाखौँ मानिस प्रभावित भएका थिए ।

प्रतिक्रिया