दाङमा डिजिटल प्रविधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने

mayukarajkumari

तुलसीपुर (दाङ),

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले डिजिटल प्रविधिमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ। निर्वाचन परिणामलाई थप व्यवस्थित, छिटो र विश्वसनीय बनाउन यस वर्षदेखि नयाँ प्रणाली लागू गर्न लागिएको हो।

विगतमा स्पिकरमार्फत मतपरिणाम सार्वजनिक गर्ने प्रचलन रहे पनि यस पटक डिस्प्ले बोर्ड प्रयोग गरेर नतिजा सार्वजनिक गरिने प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो। उहाँका अनुसार डिस्प्ले बोर्डसँगै वेबसाइटमार्फत समेत मतपरिणाम सार्वजनिक गरिनेछ।

डिजिटल प्रणाली प्रयोग गर्दा एकद्वार प्रणालीबाट परिणाम सार्वजनिक हुने भएकाले सूचना प्रवाह अझ व्यवस्थित र विश्वसनीय हुने विश्वास कार्यालयको रहेको छ। मतपरिणाम कति लटमा सार्वजनिक गर्ने भन्ने विषयमा निर्णय गरी दाङका तीनवटै निर्वाचन क्षेत्रको नतिजा डिजिटल माध्यमबाट सार्वजनिक गर्ने तयारी गरिएको उहाँले बताउनुभयो।

प्रदेशभरका जिल्लामा समेत यस्तो प्रणाली लागू गर्ने योजना भए पनि हालका लागि दाङमा परीक्षणका रूपमा यो अभ्यास सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया