काठमाडौँ,
नेपाल प्रहरीले नागरिकमैत्री सेवा विस्तार गर्ने क्रममा नयाँ व्यवस्था लागू गरेको छ। अब प्रहरीमा दर्ता गरिएका गुनासा, उजुरी तथा जाहेरीको प्रगतिबारे जानकारी सेवाग्राहीले सिधै आफ्नो मोबाइलमार्फत प्राप्त गर्न सक्ने भएका छन्।
प्रहरीका अनुसार अब मातहतका विभिन्न इकाइहरूमा दर्ता भएका निवेदन, गुनासा तथा जाहेरीको अवस्था के छ भन्ने जानकारी सम्बन्धित सेवाग्राहीलाई फोन वा एसएमएसमार्फत उपलब्ध गराइनेछ। यसले सेवाग्राहीलाई बारम्बार प्रहरी कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्ति दिलाउने अपेक्षा गरिएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले ले यस व्यवस्थाले सेवा प्रवाहलाई अझ प्रभावकारी र पारदर्शी बनाउने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार सेवाग्राहीले दिएको सम्पर्क नम्बरमै उजुरीको प्रगति सम्बन्धी सूचना पठाइनेछ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा दर्ता भएका मुद्दा, निवेदन वा जाहेरीको कार्यान्वयन अवस्था सम्बन्धित व्यक्तिलाई नियमित रूपमा जानकारी गराइने उल्लेख गरिएको छ। यस व्यवस्थाले सेवाग्राहीको समय बचत हुनुका साथै सेवा लिन अझ सहज हुने प्रहरीको विश्वास छ।