राससको ६५ औँ वार्षिकोत्सव आज मनाइँदै

mayukarajkumari

काठमाडौँ, 

मुलुकको एकमात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस)ले आज आफ्नो ६५ औँ वार्षिकोत्सव मनाउँदैछ।

विसं २०१८ फागुन ७ गते निजी क्षेत्रका दुई समाचार संस्था नेपाल संवाद समिति र सगरमाथा संवाद समिति एकापसमा गाभिएर राससको स्थापना गरिएको थियो। स्थापना कालदेखि नै राससले राष्ट्रिय तथा अन्तरराष्ट्रिय समाचार प्रवाह गर्दै आएको छ।

राससले नेपाली, अङ्ग्रेजी, अन्तरराष्ट्रिय, फोटो, श्रव्यदृश्य तथा मातृभाषा समाचार सेवा निरन्तर उत्पादन र सम्प्रेषण गर्दै आएको छ। हाल चौबिसै घण्टा नेपाली समाचार सेवा सञ्चालनमा रहेको छ।

वार्षिकोत्सवका अवसरमा आज भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयमा विशेष समारोह आयोजना गरिएको छ। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्य रहने कार्यक्रम छ।

यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति यादव, प्रधानमन्त्री सुशीला कार्की तथा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत विशिष्ट व्यक्तित्वहरूले राससको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया