गृहमन्त्री र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

mayukarajkumari

काठमाडौं,

गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले मंगलबार शिष्टाचार भेट गरेका छन्। गृह मन्त्रालयमा भएको उक्त भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यका विविध विषयमा छलफल भएको जनाइएको छ।

भेटका क्रममा गृहमन्त्री अर्यालले नवनियुक्त राजदूत माओमिङलाई बधाई दिँदै नेपालमा सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले नेपाल–चीनबीचको ऐतिहासिक मित्रता अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्दै आगामी दिनमा आर्थिक तथा सामाजिक क्षेत्रका सहयोग अझ विस्तार हुने अपेक्षा व्यक्त गरे।

मन्त्री अर्यालले विशेषगरी दूरसञ्चार क्षेत्र र साइबर अपराध नियन्त्रणका विषयमा बहुपक्षीय सहकार्य आवश्यक रहेको उल्लेख गर्दै चीनसँग सहकार्य बढाउन प्रस्ताव पनि राखेका थिए।

सो अवसरमा राजदूत माओमिङले आफूलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै नेपाल र चीनबीचको मित्रवत् सम्बन्धलाई अझ उचाइमा पु¥याउन सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उनले हालै नेपालमा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराएकोमा नेपाल सरकार तथा गृह मन्त्रालयप्रति धन्यवाद व्यक्त गरे। साथै निर्वाचन सुरक्षा र सीमा सुरक्षा व्यवस्थापनका क्षेत्रमा मन्त्रालयले गरेको कार्यको प्रशंसा गर्दै नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउन चीन प्रतिबद्ध रहेको बताए।

राजदूत माओमिङले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा स्वतन्त्रताप्रति चीनको निरन्तर समर्थन र प्रतिबद्धता रहेको पनि दोहोर्‍याए।

प्रतिक्रिया