म्याग्दी,
गण्डकी प्रदेशको बेनीदेखि ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा सवारीसाधन सञ्चालन सुरु भएको छ। हालै मार्ग खुलेको करिब १२२ किलोमिटर लामो बेनी–ढोरपाटन–तकसेरा सडक प्रयोगमा आएपछि यात्रु तथा स्थानीयलाई आवतजावतमा सहज भएको छ। यो सडक मध्यपहाडी लोकमार्ग अन्तर्गतको बागलुङ–काँक्री खण्डको तुलनामा करिब ५० किलोमिटर छोटो मानिएको छ।
पुथा उत्तरगङ्गा गाउँपालिका को बा२झ ३५३७ नम्बरको गाडी तकसेरादेखि बिहीबार पहिलोपटक ढोरपाटन र बेनी हुँदै काठमाडौँ पुगेको हो। गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले सडक सञ्चालनको सम्भाव्यता अध्ययनका लागि सो मार्ग प्रयोग गरेर टोली काठमाडौँ पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार सडक मार्ग अभावमा यसअघि ढोरपाटन–बेनीको बाटो हुँदै पोखरा पुगेर मात्रै काठमाडौँ जानुपर्ने अवस्था थियो।
पुरानो पदमार्गलाई आधार बनाएर खोलिएको यो सडक स्तरोन्नति गर्न सकेमा पूर्वी र पश्चिम रुकुम, जाजरकोट तथा डोल्पाका बासिन्दालाई पोखरा र काठमाडौँ आउजाउ गर्न छोटो तथा सहज मार्ग बन्ने अपेक्षा गरिएको छ। तकसेराबाट करिब पाँच घण्टाको यात्रापछि टोली धवलागिरि गाउँपालिका को केन्द्र मुनामा पुगेको थियो।
धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका अनुसार बेनीदेखि मुना, खोरिया, मरेनी, जलजला र गुर्जाघाट हुँदै ढोरपाटन सिकार आरक्ष उपत्यका जोड्ने करिब ७५ किलोमिटर सडकको मार्ग गत पुसमै खुलाइएको थियो। यसैगरी ढोरपाटन र तकसेरा जोड्ने सडकको मार्ग पनि फागुनको तेस्रो साता खुलेपछि हिउँदयाममा जीप र मोटरसाइकल सञ्चालन सम्भव भएको उहाँले बताउनुभयो।
हाल यो सडकमा स्तरोन्नति र खोलामा मोटर चल्ने पुल निर्माण गर्न बाँकी रहेको बताइएको छ। सडक पूर्ण रूपमा स्तरोन्नति भएमा ढोरपाटन, जलजला र तकसेरा क्षेत्र घुम्न जाने पर्यटकलाई पनि सहज हुने धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो।
बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको तकसेरा जोड्ने यो सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा करिब ५० किलोमिटर छोटो रहेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिनुभयो। बेनीदेखि २०५५ सालमा निर्माण सुरु भएको यस सडकलाई क्षेत्रीय रूपमा महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा हेरिएको छ।
यसैबीच, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पूर्वीरुकुमबाट निर्वाचित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले म्याग्दीदेखि ढोरपाटन हुँदै तकसेरा जोड्ने सडकलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
पूर्वीरुकुम, म्याग्दी र बागलुङ जिल्लामा फैलिएको ढोरपाटन क्षेत्र नेपालको एकमात्र सिकार आरक्षका रूपमा परिचित छ। प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक विशेषताका कारण पछिल्लो समय यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ।