इरानको आणविक कार्यक्रमबारे वार्तापछि ट्रम्प असन्तुष्ट, सैन्य कारबाहीको विकल्प खुला

mayukarajkumari

वासिङ्टन,

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रमबारे जेनेभामा सम्पन्न पछिल्लो वार्तापछि आफू सन्तुष्ट नभएको बताएका छन्। वार्ता कुनै सहमतिबिना टुंगिएपछि ट्रम्पले इरानले आवश्यक प्रतिबद्धता नदेखाएको भन्दै असन्तुष्टि जनाएका हुन्। उनले सैन्य कारबाही आफ्नो पहिलो विकल्प नभए पनि आवश्यक परे प्रयोग गर्न सकिने संकेत दिएका छन्।

अमेरिका–इरानबीच तनाव बढ्ने सम्भावनापछि विभिन्न देशहरूले आफ्ना नागरिकलाई मध्यपूर्व क्षेत्र छाड्न वा सतर्क रहन आग्रह गरेका छन्। बेलायतले तेहरानस्थित दूतावासका केही कर्मचारी फिर्ता बोलाएको छ भने चीन, भारत, क्यानडालगायत देशले आफ्ना नागरिकलाई इरान छाड्न सुझाव दिएका छन्। अमेरिकाले पनि इरानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न आग्रह गरेको छ।

अमेरिका र उसका सहयोगी राष्ट्रहरूले इरान आणविक हतियारतर्फ अघि बढिरहेको आशंका व्यक्त गर्दै आएका छन्, तर इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण नागरिक प्रयोजनका लागि मात्र भएको दाबी गर्दै आएको छ। वार्तामा मध्यस्थता गरिरहेका ओमानका विदेशमन्त्रीले इरानले समृद्ध युरेनियम भण्डारण नगर्ने प्रतिबद्धता जनाएको बताए पनि केही विषयमा अझै मतभेद कायम रहेको जनाइएको छ।

यसबीच अमेरिकाले मध्यपूर्व क्षेत्रमा ठूलो सैन्य उपस्थिती बढाएको छ भने इरानले आक्रमण भए कडा जवाफ दिने चेतावनी दिएको छ। वार्ता पुनः छिट्टै सुरु गर्ने तयारी भइरहेको बताइए पनि सम्भावित सहमति र क्षेत्रीय सुरक्षा अवस्थाबारे अन्योल कायम रहेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्। साथै संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकायले इरानका आणविक स्थल निरीक्षण गर्न नपाएको भन्दै चिन्ता व्यक्त गरेको छ।

प्रतिक्रिया