राहदानी वितरण प्रणाली परिवर्तन, केही दिन सेवा अवरुद्ध हुने सम्भावना

mayukarajkumari

काठमाडौँ,

राहदानी विभाग
ले नयाँ प्रणाली जडानको प्रक्रियाका कारण अन्तरिम अवधिमा राहदानी सेवा केही समय अवरुद्ध हुन सक्ने जनाएको छ। परराष्ट्र मन्त्रालय मातहत रहेको विभागले पुरानो प्रणाली हटाई नयाँ प्रणाली लागू गर्ने क्रममा सेवा प्रभावित हुन सक्ने स्पष्ट पारेको हो।

विभागद्वारा जारी सूचनाअनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय विदेशस्थित नेपाली नियोगमार्फत प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुन सक्नेछ। साथै विभागबाट प्रत्यक्ष रूपमा प्रदान गरिने राहदानी सेवा भने करिब एक सातासम्म अवरुद्ध हुन सक्ने उल्लेख गरिएको छ।

नयाँ प्रणाली जडान कार्यान्वयनपछि प्रणाली पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिनासम्म लाग्न सक्ने विभागले जनाएको छ। यस अवधिमा जिल्ला इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत राहदानीका लागि आवेदन दिँदा राहदानी तयार भई जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने सम्भावना रहेको बताइएको छ।

विभागले आगामी दिनमा नयाँ प्रणाली कार्यान्वयनसम्बन्धी थप सूचना सार्वजनिक गर्ने जनाएको छ। साथै आगामी पाँच महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनुअघि नै सम्बन्धित निकायबाट सेवा लिन विभागले आग्रह गरेको छ।

प्रतिक्रिया