इनरुवा (सुनसरी),
सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गरेका किसान सिँचाइ अभावका कारण समस्यामा परेका छन्। सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर तथा आसपासका स्थानीय तहका किसानले सिँचाइका लागि आवश्यक पानी नपाउँदा बाली सुक्ने अवस्था आएको बताएका छन्।
स्थानीय किसानका अनुसार सप्तकोसी नदीको सतह घटेका कारण नहरमा पर्याप्त पानी नआउँदा सिँचाइमा समस्या भएको हो। इनरुवा–६ का किसान देवनारायण यादवले सात बिघा जमिनमा करिब रु तीन लाख ५० हजार लगानी गरी मकैखेती गरे पनि समयमै सिँचाइ गर्न नसक्दा बाली जोखिममा परेको बताउनुभयो।
उहाँका अनुसार कतिपय समयमा नहरमा पानी भए पनि सिँचाइ गर्नुपर्ने बेलामा पानी नआउँदा किसान मारमा परेका छन्। सिँचाइ अभावका कारण मकैका बोट सुक्ने अवस्थामा पुगेको स्थानीय किसानले बताएका छन्।
यस्तै, किसान माधव भण्डारीले नहरको पानीमा निर्भर भएर मकै तथा गहुँखेती गरे पनि नहरमा पर्याप्त पानी नआउँदा सिँचाइ गर्न कठिन भएको बताउनुभयो। शङ्करपुर शाखा नहरबाट पालो प्रणालीमा पानी आउने भएकाले सबै खेतमा पर्याप्त सिँचाइ गर्न नसकिएको किसानको गुनासो छ।
सिँचाइ अभावका कारण हजारौँ हेक्टर क्षेत्रफलमा लगाइएको मकै, गहुँ तथा तरकारी बाली सुक्न थालेपछि किसानले शङ्करपुर शाखा नहरमा पर्याप्त पानी उपलब्ध गराउन माग गरेका छन्।
कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहका अनुसार यस वर्ष सुनसरी जिल्लामा १२ हजार ६३ हेक्टर क्षेत्रफलमा गहुँखेती र सात हजार ५२० हेक्टर क्षेत्रफलमा मकैखेती गरिएको छ।