खोटाङ,
केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेँसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। काठमाडौँबाट पाँच यात्रु बोकेर दिउँसो १२:०२ बजे बालाबेँसी पुगेको नाइन एन–एएफक्यू नम्बरको हेलिकप्टर अवतरणका क्रममा भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा ललितपुर निवासी ६५ वर्षीय काजीबहादुर राई गम्भीर घाइते हुनुभएको छ। उहाँको दाहिने खुट्टा र आँखामा चोट लागेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। चालक सविन थापा र घाइते काजीबहादुरलाई एयर डाइनेष्टीकै अर्को हेलिकप्टरमार्फत दिउँसो १२:३५ बजे उपचारका लागि काठमाडौँ पठाइएको छ।
स्थानीय वडाध्यक्ष मिलन राईका अनुसार दुर्घटनापछि काजीबहादुर राई हेलिकप्टरले थिचिएको अवस्थामा फेला पारिएको थियो र तत्काल उद्धार गरिएको थियो। हेलिकप्टरमा एक महिनाअघि बेलायतमा निधन भएकी ७७ वर्षीया मनलक्ष्मी राईको अन्त्येष्टिका लागि उहाँका आफन्तहरू खोटाङ आएका थिए। मृतकका श्रीमान् ८२ वर्षीय डाकमणि राई, छोरा ५३ वर्षीय बालकुमार राई, छोरी ४७ वर्षीया लक्ष्मी राई र आफन्त समला राईसहित अन्य यात्रु भने सकुशल रहेका छन्।
दुर्घटनाबारे अनुभव सुनाउँदै यात्रु बालकुमार राईले घटना सपनाजस्तै लागेको बताउनुभयो। “म अगाडिको सिटमा बसेको थिएँ। दुर्घटनापछि सबैजना आत्तिएका थियौँ, तर चालकले तुरुन्तै इञ्जिन बन्द गर्नुभयो, जसले थप क्षति हुनबाट जोगायो,” उहाँले भन्नुभयो।
एयर डाइनेष्टीका अनुसार क्याप्टेन सविन थापासँग सात वर्षको अनुभव र १,१०५ घण्टा उडानको अनुभव रहेको छ। दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको कम्पनीले जनाएको छ। प्रवक्ता बालकृष्ण पण्डितले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो।
प्रारम्भिक जानकारी अनुसार बारीको डिलमा अवतरण गरिएको हेलिकप्टर पुनः उठाएर स्थान परिवर्तन गर्ने क्रममा पछाडिको भाग पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनापछि हेलिकप्टरको पङ्खा र पुच्छर टुक्रिएको अवस्थामा भेटिएको छ।
घटनाको अनुसन्धानका लागि काठमाडौँबाट विज्ञ टोली घटनास्थल पुगेर आवश्यक अध्ययन गरी फर्किएको स्थानीयले बताएका छन्।