रामेछाप
बीपी मार्ग अन्तर्गत रोशी खोलाको खण्ड अहिले अत्यन्तै जोखिमपूर्ण बनेको छ। गत वर्ष र यस वर्षको वर्षायाममा आएको भीषण बाढीले सडक संरचना पूर्ण रूपमा क्षतविक्षत बनाएपछि हाल उक्त क्षेत्रमा पुनर्निर्माणको काम भइरहेको छ।
स्थायी सडक निर्माण नहुँदासम्म सवारी साधन खोलाको बगरमा बनाइएको अस्थायी कच्ची सडकमार्फत सञ्चालन भइरहेको छ। उक्त सडक कच्ची, साँघुरो र खाल्डाखुल्डी भएकोले यात्रुहरू ठूलो जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। ठूला खाल्डा, धुलाम्मे बाटो र एकतर्फी जस्तो साँघुरो मार्गले दुईतर्फी सवारी सञ्चालनमा समस्या सिर्जना गरेको छ।
सामान्यतया काठमाडौंबाट खुर्कोट पुग्न तीनदेखि साँढे तीन घण्टा लाग्दो यात्रा अहिले पाँचदेखि छ घण्टा पुगेको छ। लामो जाम, धुलो र अव्यवस्थित सडक अवस्थाका कारण बिरामी, बालबालिका र वृद्ध यात्रु बढी प्रभावित भएका छन्। कतिपय सवारी बीच बाटोमै रोकिँदा जोखिम अझ बढेको छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा सवारी चाप बढेको छ र साँघुरो अस्थायी सडकमा दुर्घटनाको सम्भावना पनि बढेको छ। यात्रुहरूले सावधानीपूर्वक यात्रा गर्नुपर्ने अवस्था छ भने सम्बन्धित निकायले अस्थायी सडकलाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक पहल गर्नुपर्ने मागसमेत उठेको छ।