काठमाडौँ,
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोगले टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने भएको छ । युवामाझ लोकप्रिय सामाजिक सञ्जाल टिकटकमार्फत निर्वाचनको माहोल सिर्जना गर्दै मतदाता सचेतना बढाउने उद्देश्यले आयोगले उक्त अभियान अघि बढाएको हो ।
आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिने प्रतियोगितामा सहभागीले अधिकतम एक मिनेट अवधिको सन्देशमूलक टिकटक भिडियो तयार गर्नुपर्नेछ । भिडियोमा निर्वाचन प्रचारप्रसार, मतदाता शिक्षा, निर्वाचन आचारसंहिताको पालना तथा मतदान प्रक्रियाबारे जानकारी समेटिएको हुनुपर्ने आयोगले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले तयार पारेको भिडियो आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्नुका साथै फागुन १७ गतेभित्र आयोगको इमेलमा समेत पठाउनुपर्नेछ । प्राप्त भिडियोमध्ये सबैभन्दा बढी भ्युज प्राप्त गर्ने तीन उत्कृष्ट भिडियोलाई पुरस्कार प्रदान गरिनेछ ।
आयोगका अनुसार पहिलो हुने भिडियोले रु ५० हजार, दोस्रोले रु ३० हजार र तेस्रोले रु २० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
भिडियो प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा संवादमूलक र सन्देशप्रधान हुनुपर्नेछ । मौलिक अडियो, अभिनय तथा सिर्जनात्मक प्रस्तुतीलाई विशेष प्राथमिकता दिइनेछ । भिडियोमा निर्वाचनको महत्व, मतदान गर्ने सही तरिका, मतदाताको अधिकार र कर्तव्य, योग्य उम्मेदवार छनोटका आधारलगायत विषय समावेश गर्नुपर्नेछ ।
एक व्यक्तिले एउटै विषयमा एउटा भिडियो मात्र पठाउन सक्नेछन् भने दुई वा सोभन्दा बढी व्यक्ति मिलेर पनि भिडियो निर्माण गर्न सकिनेछ । प्रतियोगितामा प्राप्त भिडियोहरूको प्रसारण अधिकार आयोगमा रहने र आवश्यकताअनुसार आयोगका सामाजिक सञ्जालमार्फत प्रसारण गर्न सकिने जनाएको छ ।
तोकिएका मापदण्ड पूरा नगरेका वा म्याद नाघी प्राप्त भिडियोहरू स्वीकार नगरिने तथा उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ र आयोगको संयुक्त मूल्याङ्कनबाट गरिने सूचनामा उल्लेख गरिएको छ ।